डायस्पोरा बण्ड सुरु गर्नुभन्दा पहिला विगतको समीक्षा गरौँ : उपाध्यक्ष लोक दाहाल

६ घण्टा अगाडि

डायस्पोरा नेपाल

काठमाडौँ । गैर आवासीय नेपाली संघका उपाध्यक्ष लोक प्रसाद दाहालले सरकारले १ खर्ब रुपैयाँको डायस्पोरा बण्ड ल्याउने योजना सार्वजनिक गरे पनि विगतका अभ्यासहरूको भने गम्भीर समीक्षा गर्नु पर्नेमा जोड दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा सोमबार धारणा सार्वजनिक गर्दै उपाध्यक्ष दाहालले विगतमा वैदेशिक रोजगारी बचत बण्डमा देखिएको न्यून सहभागिताका कारण यस पटक विश्वासिलो र आकर्षक लगानी मोडलको खाँचो महसुस गरिएको उल्लेख गरेका हुन् । उनले सानादेखि ठूला लगानीकर्ता र विदेशी पासपोर्टधारी नेपालीसमेतलाई समेट्ने गरी ‘सामूहिक लगानी कोष’ को अवधारणा अघि पनि सारेका छन् ।

जलविद्युत, पूर्वाधार, कृषि र पर्यटन जस्ता क्षेत्रमा लगानी गरी विदेशमा रहेको १०० खर्बभन्दा बढीको आर्थिक सम्भावनालाई नेपालको समृद्धिमा रूपान्तरण गर्न सकिने प्रबल सम्भावना रहेको चर्चा गर्दै अब सरकार, एनआरएनए र निजी क्षेत्रबिचको दरिलो सहकार्य नै डायस्पोरा पुँजीलाई राष्ट्र निर्माणमा लगाउने मुख्य कडी बन्ने उल्लेख गरे ।

यस्तै, एनआरएनएको पछिल्लो एकता र बलियो सरकार निर्माण भएकाले डायस्पोरामा नयाँ आशा र उत्साहको सञ्चार गरेको पनि उल्लेख गरे । उनले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने भावनालाई आत्मसात् गर्दै नेपाल सरकारले पनि एनआरएनका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएकोमा धन्यवाद पनि दिएका छन् ।

एक खर्बको डायस्पोरा बण्ड सफल हुनेमा एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आशङ्का 

सरकारले प्रतिबद्धता पत्र मार्फत हालै डायस्पोरालाई लक्षित गर्दै  वार्षिक १ खर्ब रुपैयाँ बराबरको ‘डायस्पोरा बण्ड’ ल्याउने घोषणा गरेको थियो ।

गैर आवासीय नेपाली संघको तथ्याकं अनुसार अहिले पनि विदेशमा ८० लाख नेपाली रहेका छन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us