एक खर्बको डायस्पोरा बण्ड सफल हुनेमा एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आशङ्का
काठमाडौँ । गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष महेश कुमार श्रेष्ठले सरकारले अघि सारेको एक खर्ब रुपैयाँ बराबरको ‘डायस्पोरा बण्ड’ सफल हुनेमा आशङ्का व्यक्त गरेका छन् ।
नयाँ सरकारले एनआरएनलाई लक्षित गर्दै पूर्वाधार विकास र निर्यातमुखी उद्योगमा लगानी आकर्षित गर्न वार्षिक १ खर्ब रुपैयाँ बराबरको डायस्पोरा बण्ड जारी गर्ने महत्त्वाकाङ्क्षी योजना राष्ट्रिय प्रतिविद्धतामार्फत सार्वजनिक गरेको थियो ।
संघको १२ औँ महाधिवेशनपश्चात् सामाजिक सञ्जाल फेसबुकमा सबैलाई बधाई एवं शुभकामना व्यक्त गर्दै निवर्तमान अध्यक्ष श्रेष्ठले विना अध्ययन सरकारले ल्याएको यस्तो महत्त्वाकाङ्क्षी योजनाभन्दा ‘सामूहिक लगानी कोष’ बढी व्यवहारिक हुने उल्लेख गरेका हुन् ।
संघको १२औँ महाधिवेशनबाट सर्वसम्मत कार्यसमिति चयन भई गैरआवासीय नेपालीहरू उत्साहित भएको वर्तमान सन्दर्भमा श्रेष्ठले सरकारको लगानी रणनीतिको छिद्र पनि केलाएका छन् । “सरकारले प्रस्ताव गरेको १ खर्बको डायस्पोरा बण्ड सफल हुने सम्भावना अत्यन्तै न्यून देखिन्छ। यो प्रस्ताव सरकारले विना अध्ययन हचुवाको भरमा ल्याएको देखिन्छ,” उनले फेसबुकमा लेखेका छन् । विगतमा राष्ट्र बैङ्कले जारी गरेका बण्डहरू सफल नहुनुको मुख्य कारण गैरआवासीय नेपालीहरूको रुचि सरकारी बण्डभन्दा ‘इक्विटी’ मा आधारित लगानीमा हुनु रहेको उनको विश्लेषण छ ।
निवर्तमान अध्यक्ष श्रेष्ठले तीन प्रकारका सामूहिक लगानी कोषको प्रस्ताव पनि गरेका छन् । विदेशमा रहेका करिब ८० लाख नेपालीको १०० खर्बभन्दा बढीको सम्पत्तिलाई नेपालको विकासमा लगाउन ‘डायस्पोरा सामूहिक लगानी कोष’ को मोडेल अघि सारेका हुन् ।
उनले ५० अर्बको साना लगानीकर्ता कोषमा ५ लाख प्रवासी नेपालीले ३ महिनामा २५ हजारका दरले लगानी गर्दा दुई वर्षमा १ खर्बको कोष बन्ने विकल्प अघि सारे । यसलाई श्रमिक र विद्यार्थी लक्षित बनाउनु पर्नेमा जोड दिएका छन् ।
यसैगरी १० अर्बको नेपाली पासपोर्ट बाहक कोषमा लगानी र मुनाफा नेपालमै परिचालन गर्ने गरी नेपाली नागरिक सरह लगानीको व्यवस्था हुनु पर्नेमा जोड दिएका छन् । त्यस्तै १० अर्बको विदेशी पासपोर्ट बाहक कोषमा ८५ प्रतिशतसम्म आइपिओ जारी गर्न पाइने र लगानी तथा मुनाफा विदेश लैजान पाउने व्यवस्था गर्नु पर्ने सुझाएका छन् ।
कोषहरू सञ्चालनका लागि धितो पत्र सम्बन्धी ऐन र वैकल्पिक विकास वित्त परिचालन ऐनमा आवश्यक सुधार गर्नुपर्ने श्रेष्ठको सुझाव छ । यसरी जुटाएको पुँजीलाई जलविद्युत, डेटा सेन्टर, हरित हाइड्रोजन, रासायनिक मल उद्योग र पर्यटन जस्ता ठूला पूर्वाधारमा लगाउन सकिने उनको प्रस्ताव छ ।
यसैगरी निवर्तमान अध्यक्ष श्रेष्ठले १२औँ महाधिवेशनबाट डा. हेमराज शर्माको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएकोमा बधाई ज्ञापन गर्दै संस्थामा एकता कायम गर्न भूमिका खेल्ने सम्पूर्ण व्यक्तित्वहरूलाई धन्यवाद पनि दिएका छन् ।
