अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ
काठमाडौं : गृहमन्त्री सुधन गुरुङले आफ्नो नामसँग जोडिएर उठेका विभिन्न आरोपबारे स्पष्टिकरण दिँदै अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले आरोप र यथार्थ फरक विषय भएको उल्लेख गर्दै कुनै पनि निष्कर्ष प्रमाणका आधारमा मात्र निकालिनुपर्ने बताएका छन् ।
पछिल्लो समय विवादित पृष्ठभूमिका व्यवसायीसँग आफ्नो सम्बन्ध जोडिएको भन्दै उठेका प्रश्नप्रति प्रतिक्रिया दिँदै गुरुङले भावनात्मक आधारमा होइन, तथ्य र प्रमाणका आधारमा निर्णय हुनुपर्ने धारणा राखेका हुन् । “आरोप र सत्य एउटै कुरा होइनन्, निर्णय प्रमाणमा आधारित हुनुपर्छ,” उनले भने ।
गुरुङले आफ्नो सम्पत्ति विवरणबारे उठेका जिज्ञासाहरूको पनि खण्डन गरेका छन् । उनले धितोपत्र बजारमा गरिएको २ करोड रुपैयाँभन्दा बढी लगानी सम्पत्ति विवरणमै खुलाइएको दाबी गर्दै ‘सेयर लुकाएको’ भन्ने आरोप गलत भएको बताएका छन् । विभिन्न कम्पनीमा गरिएको लगानी एउटै समूहअन्तर्गत वर्गीकरण गरिएको स्पष्ट पार्दै उनले पारदर्शिता कायम गरिएको जिकिर गरेका छन् ।
त्यस्तै, मन्त्री बन्नुअघि गरिएको लगानीलाई लिएर उठेका प्रश्नबारे उनले सेयर खरिद गर्नु कानुनी रूपमा वैध कार्य भएको बताएका छन् । सबै आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत भएको र त्यसको स्पष्ट अभिलेख रहेको उल्लेख गर्दै उनले स्रोतसम्बन्धी शंका निराधार भएको बताएका छन् । गुरुङका अनुसार लगानीका लागि प्रयोग भएको रकम कर्जामार्फत जुटाइएको हो, जसको लिखित प्रमाण रेकर्डमा उपलब्ध छ ।
गृहमन्त्री गुरुङमाथि निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया अघि बढाउन कांग्रेसको माग
विवादित व्यक्तिसँग साझेदारीको आरोपप्रति उनले एउटै कम्पनीमा धेरै सेयरधनी हुने भएकाले सेयर खरिद गर्नु साझेदारीको अर्थ नहुने स्पष्ट पारेका छन् । यसलाई आधार बनाएर दोषारोपण गर्नु न्यायोचित नहुने उनको भनाइ छ ।
‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ सम्बन्धी प्रश्नमा उनले छानबिन गर्ने निकाय गृह मन्त्रालय नभई अर्थ मन्त्रालयअन्तर्गतको सम्बन्धित निकाय भएको उल्लेख गर्दै प्रक्रिया स्वतन्त्र रूपमा अघि बढिरहेको बताएका छन् । यदि आफ्नो हस्तक्षेप भएको भए छानबिन नै नहुने उनको दाबी छ ।
गुरुङले लगानी गर्दा सबै सम्भावित जोखिम पूर्वानुमान गर्न नसकिने भन्दै पछि भएका घटनाका आधारमा निर्णयको मूल्यांकन गर्नु उचित नहुने धारणा राखेका छन् । साथै, संवेदनशील विषयमा हतारमा प्रतिक्रिया नदिनु नै उपयुक्त हुने उनको भनाइ छ ।
मन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग
उनले पार्टीले गर्ने जुनसुकै निर्णय मान्ने र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार रहेको दोहोर्याएका छन् । “हामीले हल्लामा होइन, प्रमाणमा उभिनुपर्छ,” उनले भने, “शहीदहरूको बलिदानले हामीलाई अझ जिम्मेवार बनाउँछ ।”
