एनआरएनएको केन्द्रीय नेतृत्व चयन गर्न सबै सदस्यले भोट हाल्न पाउने व्यवस्था गरौँ: युके अध्यक्ष राजेन्द्र पुडासैनी
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले एनआरएनएभित्र मौलाउँदै गएको पदको अस्वस्थ वितरण र गुटगत राजनीतिको अन्त्य नभएसम्म संस्थाको साख नफर्कने बताउनुभएको छ। आइसीसी उपाध्यक्ष डा. हेमराज शर्माले आगामी कार्यकालका लागि अध्यक्ष पदमा गर्नुभएको उम्मेदवारी घोषणा सभालाई जुममार्फत सम्बोधन गर्दै अध्यक्ष पुडासैनीले संस्थालाई केही सीमित व्यक्तिको स्वार्थ सिद्ध गर्ने ‘बिजनेस क्लब’ वा राजनीतिक दलका भ्रात्री संगठन जस्तो बनाउन खोजिए यसको अस्तित्व नै संकटमा पर्ने चेतावनी दिनुभयो। विगतमा नेतृत्व चयनका क्रममा भएका गतिविधिले आम प्रवासी नेपालीमा नकारात्मक सन्देश गएको चर्चा गर्दै उहाँले अब एनआरएनएको नेतृत्व कसरी चुनिने र यसले सदस्यका एजेन्डाहरूलाई कसरी सम्बोधन गर्छ भन्ने विषयमा गम्भीर मन्थन हुनुपर्नेमा जोड दिनुभयो।
विशेष गरी एनआरएनएको वर्तमान विधानमा रहेका छिद्रहरू र चलखेल गर्ने ठाउँहरूलाई तत्काल संशोधन गर्नुपर्ने माग गर्दै पुडासैनीले ‘एक सदस्य एक भोट’ को अवधारणा अघि सार्नुभयो। उहाँले सिमित प्रतिनिधिहरूलाई मात्र भौतिक रूपमा उपस्थित गराएर, कसैको हित वा राजनीतिक/व्यवसायिक गुटको स्वार्थमा अधिवेशन गरेर पद हत्याउने प्रवृत्तिले एनआरएनएको साख दिनप्रतिदिन खस्कँदै गएको बताउनुभयो। अब प्रविधिको प्रयोग गर्दै विश्वभरका सबै पञ्जीकृत सदस्यहरूले अनलाइनमार्फत मतदान गरेर प्रत्यक्ष रूपमा आफ्नो नेतृत्व छान्न पाउने प्रणाली विकास गर्न डा. शर्माको चुनावी अभियानले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उहाँको सुझाव थियो। “जबसम्म आम सदस्यहरू सशक्त हुँदैनन् र उनीहरूको हातमा नेतृत्व छान्ने अधिकार हुँदैन, तबसम्म संस्थाले वास्तविक जनमतको प्रतिनिधित्व गर्न सक्दैन,” पुडासैनीले भन्नुभयो।
एनआरएनएको १२औँ विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन
प्रवासमा रहेका नेपालीहरूको फरक-फरक जनसांख्यिक र क्षेत्रीय समस्याहरूलाई सम्बोधन गर्न एनआरएनएको संरचनात्मक सुधारको आवश्यकता औंल्याउँदै पुडासैनीले क्षेत्रीय समन्वय समितिहरू (आरसीसी) लाई थप अधिकारसम्पन्न र कार्यकारी बनाउनुपर्ने प्रस्ताव गर्नुभयो। मध्यपूर्वमा रहेका श्रमिक नेपालीका समस्या, युरोप र अमेरिकामा रहेका नेपालीका फरक चुनौती तथा एसिया प्यासिफिक क्षेत्रका मुद्दाहरूलाई त्यहीँका स्थानीय संयन्त्रमार्फत हल गर्ने गरी एनआरएनए अगाडि बढ्नुपर्ने उहाँको तर्क थियो। संस्थालाई केवल केन्द्रमुखी मात्र नबनाई ‘ग्रासुरुट’ सम्म पुर्याउन र हरेक नेपालीले “मेरो अभिभावक संस्था यहाँ छ” भन्ने महसुस गर्ने गरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। भाषा, संस्कृति र नेपालीत्व जोगाउन विदेशमा रहेका सबै नेपालीलाई एउटै मालामा गाँस्ने अभियानको नेतृत्व डा. शर्माले लिन सक्ने उहाँको विश्वास थियो।
अन्तमा, पुडासैनीले नयाँ पुस्ताको आगमनसँगै एनआरएनएप्रतिको अपेक्षा र प्रश्नहरूको वर्षा भइरहेको सन्दर्भमा अबको नेतृत्व आर्थिक रूपमा अनुशासित र पारदर्शी हुनुपर्ने स्पष्ट पार्नुभयो। गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन, विदेशमा रहेका नेपालीको सम्पत्ति सुरक्षा र लगानीको वातावरण जस्ता गम्भीर विषयहरू केवल भाषण र मन्त्रीहरूसँगको भेटघाटमा मात्र सीमित हुन नहुने उहाँको भनाइ थियो। डा. शर्माको स्थापनाकालदेखिको अनुभव, नीति निर्माणमा उहाँको दख्खल र सांगठनिक सक्रियताले संस्थालाई एकढिक्का बनाउन ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्दै पुडासैनीले नयाँ पुस्तालाई समेट्ने र २४सै घण्टा सदस्यता खुला रहने आधुनिक एनआरएनए बनाउन शुभकामना दिनुभयो। एनआरएनएको १२ औं वृहत एकता महाधिवेशन मार्च १४-१६ काठमाडौंमा हुँदै छ ।
अध्यक्ष पुडासैनीले गरेको सम्बोधन हेर्न यहाँ क्लिक गर्नुहोस्
