एनआरएनए महाधिवेशनको तयारी तीव्र
परराष्ट्र मन्त्रालय र गैरआवासीय नेपाली संघ (NRNA) को संयुक्त आयोजनामा आगामी १२ औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनलाई ‘बृहत एकताको महाधिवेशन’ का रूपमा सम्पन्न गर्ने उद्घोष गरिएको छ।
लामो समयको विवाद र विभाजनपछि ३० नोभेम्बर २०२५ मा सम्माननीय प्रधानमन्त्रीको उपस्थितिमा भएको १० बुँदे सहमति अनुसार संस्था अब पूर्ण रूपमा एकजुट भएको सन्देश दिइएको छ। आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने यस महाधिवेशनले ‘हाम्रो एकता: समृद्धिको आधार’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै विश्वभर छरिएका ८० लाखभन्दा बढी गैरआवासीय नेपालीहरूको सीप, ज्ञान र पुँजीलाई राष्ट्रिय हितमा परिचालन गर्ने लक्ष्य राखेको छ।
प्रेस मिटमा बोल्दै संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले एनआरएनए केवल एउटा संस्था मात्र नभई नेपाललाई समृद्ध बनाउने एउटा महाअभियान भएको बताउनुभयो। उहाँले प्रविधिको प्रयोग गरी अनलाइनबाट जोडिनुभन्दा भौतिक रूपमै नेपाल आएर सहभागिता जनाउन सबै प्रतिनिधिहरूलाई आह्वान गर्नुभयो।
१४ इन्चको मोनिटरबाट देशको अवस्था र सम्भावना बुझ्न नसकिने तर्क गर्दै महतोले ५ देखि १० हजारको संख्यामा नेपालीहरू मातृभूमि ओर्लिएर एकताको सन्देश दिनुपर्नेमा जोड दिनुभयो। उहाँले नेपाल समृद्ध नभएसम्म विदेशमा बस्ने नेपालीको इज्जत नहुने भन्दै यसपटकको महाधिवेशनले दिने उर्जाले समृद्ध नेपाल निर्माणको बाटो खन्ने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी, एनआरएनएका अध्यक्षद्वय बद्री केसी र महेश कुमार श्रेष्ठले संस्थाको आगामी कार्यदिशा र सामूहिक लगानीका योजनाहरूका बारेमा प्रष्ट पार्नुभयो। अध्यक्ष केसीले वार्षिक २२ खर्ब रेमिट्यान्स पठाउने नेपालीहरूको योगदानलाई अब सामूहिक लगानीमार्फत ठूला आयोजनामा केन्द्रित गर्नुपर्ने र एनआरएन नागरिकताको पूर्ण कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो। अर्का अध्यक्ष श्रेष्ठले चीन र भारतको विकासमा त्यहाँका प्रवासीहरूको भूमिका जस्तै नेपालका लागि पनि एनआरएनहरू कोसेढुङ्गा सावित हुने उल्लेख गर्नुभयो।
१० अर्बको कोष अन्तिम चरणमा पुगेको र आगामी दिनमा जलविद्युत, मल कारखाना तथा हाइड्रोजन ऊर्जा जस्ता क्षेत्रमा लगानी गर्ने योजना सुनाउँदै उहाँले निष्पक्ष निर्वाचन र विदेशबाटै मतदान गर्न पाउने अधिकारका लागि संस्था लाग्ने प्रतिबद्धता जनाउनुभयो।
