नेपाल आउने विदेशी नागरिकको ‘डिजिटल ट्रयाकिङ’ सुरु
काठमाडौँ – अध्यागमन विभागले नेपाल घुम्न आएका विदेशी पर्यटकको डिजिटल ट्रयाकिङ सुरु गरेको छ । बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन विभागले विकास गरेको ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’को उद्घाटन गरे ।
भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले डिजिटल ट्रयाकिङ प्रणालीले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताए ।
विभागले गत असोज १ गतेबाट नै होटल एसोसिएसन नेपालसँगको समन्वयमा पहिलो चरणमा काठमाडौँका तारे होटलमा विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली लागु गरेको थियो । नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवर्द्धनमा सहयोग गर्न दर्ता तथा अनुगमन प्रणालीको विकास गरिएको अध्यागमन विभागले जनाएको छ ।
विभागले सुरु गरेको प्रणाली अनुसार कुनै विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि बुकिङ गरेको होटलमा जानुअघि विवरण इन्ट्री गरेर जानुपर्छ । विवरण इन्ट्री गरेपछि जेनेरेट हुने क्युआर कोडको आधारमा सेवा प्रदायक संस्थाहरूले विदेशी नागरिकको रेकर्ड विभागको अनलाइन प्रणालीमा पठाउनुपर्ने छ । विवरण इन्ट्री नगरेको अवस्थामा होटलहरूले विवरण भरेर अनलाइन प्रणालीमा पठाउनुपर्ने गरी प्रणाली विकास गरिएको छ ।
देशभरका तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स कम्पनी र मनी एक्स्चेन्जहरूबाट सो प्रणाली लागू गरिएको छ । सो प्रणाली क्रमशः सबै प्रकारका होटल तथा गेस्ट हाउसमा तथा सार्वजनिक तथा निजी संस्थाहरूमा पनि लागू गरिने विभागले जनाएको छ ।
विभागका महानिर्देशक रामचन्द्र तिवारीले यस प्रणालीले विदेशी नागरिकको आवतजावत र बसाइलाई प्रभावकारी बनाउने बताए । उनले भने, ‘व्यक्तिगत सुरक्षा थप मजबुत बनाउन, विपद्को समयमा खोजी तथा उद्धार कार्यमा सहजीकरण गर्न सहज हुन्छ ।’
‘विश्वस्तरमा नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न यो प्रणालीले सहयोग पुग्ने हाम्रो विश्वास छ,’ उनले भने।
