एनआरएनए यूकेको सहयोगमा आदर्श फर्किए नेपाल

१२ घण्टा अगाडि

डायस्पोरा नेपाल

 

लन्डन– गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको सहयोगमा ‘होमलेस’ बनेका एक विद्यार्थी नेपाल फर्किएका छन् ।

गत नोभेम्बर २५, २०२४ मा युनिभर्सिटी अफ सन्डरल्याण्डमा बीए अनर्स पढ्न आएका पनौती, काभ्रेपलान्चोकका २१ वर्षीय आदर्श थापालाई एनआरएनए यूकेको सहयोगमा नेपाल पठाइएको हो ।

युनिभर्सिटीले फि नतिरेको भन्दै ब्रिटेनको होम अफिसलाई अवगत गराए पछि उनको भिजा रद्द भएको थियो। त्यस पछि उनले काम गर्न पाएनन् । भाडा तिर्न नसकेका कारण घरबेटीले समेत कोठाबाट निकालिदिएपछि ‘होमलेस’ भएर रेल स्टेशनमा बसिरहेका बेला उनले एनआरएनए यूकेलाई सम्पर्क गरेका थिए ।

त्यसपछि एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनी, विद्यार्थी विभागका संयोजक विष्णु भट्टराई र खेलकुद विभागका सहसंयोजक प्रमोद भण्डारीले उनलाई भेटी तीन दिनसम्म एक होटलमा राखेर नेपाल फर्कन सहयोग गरे ।

एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले उच्च शिक्षाका लागि बेलायत आउने नेपाली विद्यार्थीहरुलाई बेलायतमा विश्वविद्यालयको ट्युशन फी, बस्ने, खाने खर्च, काम पाउने सम्भवना लगायतका कुरा बुझेर मात्रै आउन सुझाव दिएका छन्। “यहाँ महंगी निकै बढेको छ, काम र कोठा पाउन पनि गाह्रो छ। नेपालबाट पैसा मगाएर धान्न सम्भव नहुने विद्यार्थीहरुले मानसिक तथा आर्थिक समस्या व्यहोरी रहेका छन्। त्यसैले आर्थिक पक्षको पर्याप्त व्यवस्था गरेर मात्रै युके आउन हामी सुझाव दिन चाहन्छौं,” पुडासैनीले भने। उनले सकभर अण्डरग्रयाजुएट भन्दा मास्टर्स तहमा अध्ययन गर्न आउन पनि सुझाव दिए।

नेपाल फर्कनु अघि आदर्शले पनि अण्डरग्रयाजुएट पढ्न नआउन, आएपनि मास्टर्स अध्ययनका लागि रिसर्च गरेरमात्र आउन सुझाव दिए ।

‘कन्सल्टेन्सीले त कमिशन आउंछ भनेर पठाइहाल्छन् तर विद्यार्थीले आउनु अगाडि आफैं रिसर्च गर्नु, युनी वरपर काम, कोठा पाइन्छ कि पाइंदैन बुझेर मात्र आउनु नत्र मेरो जस्तो बेहाल हुन्छ’, उनले भने । बेलायतमा ‘फ्रिडम’ ज्यादा हुंदा धेरै नेपाली विद्यार्थी कुलतमा लागेको पनि उनले बताए । आफ्नो छोराछोरीको स्थिति कस्तो छ? उनीहरुको संगत कस्तो छ त्यसबारे बुझ्न पनि उनले अभिभावकहरुलाई सुझाव दिए।

उनले आफुलाई सहयोग गरेकोमा एनआरएनए यूकेलाई पनि धन्यवाद दिए।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us