नयाँ वर्षको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना

आजदेखि अंग्रेजी नयाँ वर्ष २०२२ प्रारम्भ भएको छ । यस उपलक्ष्यमा सम्पूर्ण पाठक, शुभचिन्तक तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं । साथै नयाँ वर्षले यहाँको जीवनमा सुख, शान्ति, समृद्धि र ल्याओस् भन्ने पनि कामना गर्न चाहन्छौं । विगत समयमा जस्तै यस नयाँ वर्षमा पनि यहाँहरुको सहयोग, सल्लाह र सुझावको अपेक्षा राखेका छौं ।
अंग्रजी नयाँ वर्षको इतिहासलाई हेर्दा जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको ज्योतिषाचार्य डा. खिलानाथ बस्ताकोटी बताउँछन्। विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ।
यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन्। केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ। विदेशी पर्यटकको भीडभाड हुने काठमाडौंको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा अघिल्लो साँझ ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ।
