कांग्रेसका सभापतिका उम्मेदबार कोइरालाको देउवालाई चेतावनीः विगत साढे पाँच वर्ष जसरी पार्टी चल्यो भने सशक्त प्रतिवाद

काठमाडौँ – कांग्रेसका सभापतिका उम्मेद्वार डा। शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई पार्टीलाई नयाँ ढंगले चलाउन सुझाव दिएका छन्।
बुधबार महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डा। कोइरालाले कांग्रेसलाई व्यवस्थित रुपमा नचलाए प्रतिवाद गर्ने चेतावनी दिएका हुन्। ‘जसरी साढे पाँच वर्ष बेथितिका हिसाबले पार्टी चल्यो, त्यसरी चल्न थाल्यो भने हामी सशक्त रुपमा उठ्ने छौँ,’ कोइरालाले भने।
उनले सभापति देउवालाई बधाई र चार वर्षे कार्यकालको शुभकामना दिँदै आफूले हारलाई स्वभाविक रुपमा लिएको उल्लेख गरे। सभापतिमा हारेकोमा आफूसँग कुनै कुण्ठा नभएको उनले प्रष्ट पारे।
‘हारलाई स्वभाविक रुपमा लिएको छु। कुनै कुण्ठा छैन। कसले के गर्यो, कसले सहयोग गर्यो वा गरेन मैले मनमा लिएको छैन,’ कोइरालाले अगाडि भने, ‘यो चुनावमा राम्रो के देखियो भने हामीले लिएको कमद विजयी भएको छ। हाम्रा राजनीतिक मुद्दारएजेण्डा स्थापित भएको छ।’
कोइरालाले आफू पार्टीमा गुटबन्दी र भागवण्डामा नलाग्ने प्रतिबद्धता जनाए । बुधबार भएको दोस्रो चरणको चुनावबाट कोइरालालाई पराजित गर्दैै देउवा पार्टी सभापतिमा निर्वाचित भएका हुन्। देउवाले २७ सय ३३ मत पाएका छन् भने कोइरालाले १८ सय ५५ मत पाए।
अर्को महाधिवेशनमा जित्ने विश्वास व्यक्त गर्दै उनले भने, ‘आजैदेखि म कांग्रेसको रुपातन्तरणमा लागेको छु। तपाईंहरुको घर दलोमा आउनेछु। आगामी अधिवेशनमा हामी जित्छौँ । भागवण्डा र गुटबन्दीको राजनीतिमा लाग्दैनौँ। उहाँहरुलाई सोच्न बाध्य बनाउँछौँ।’
उनले आफ्नो समूहले युवाहरुका लागि पार्टीमा अवसरको ढोका खोलेको दाबी गरे। कोइरालाले भने, ‘युवा पुस्ताका लागि नेपाली कांग्रेसभित्र अवसरै अवसरको ढोका खोलिदिएका छौँ।’
कोइरालाले आफ्नो राजनीतिक यात्रा नयाँ ढंगले सुरु भएको घोषणा गरे।
