कांग्रेसमा आज मनोनयन दर्ता : देउवाको टिम बन्दै, पौडेल समूहमा सभापतिकै लफडा

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत उम्मेदवारहरूले आज मनोनयन दर्ता गर्दैछन् । नयाँ नेतृत्वमा रहन चाहनेहरूका लागि आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार आजै साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारी उपर दाबी–विरोध र जाँचबुझ तथा बेलुका ७ देखि ९ बजेसम्म दाबी–विरोध उपर निर्णय गर्ने समय सीमा राखिएको छ ।

यस्तै भोलि दिउँसो सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र सोमबार बिहान ८ बजेबाट मतदान सुरु गरिने निर्वाचन समितिले जनाएको छ । कांग्रेसमा संस्थापन र पौडेल-कोइराला समूह प्यानलसहित चुनावी मैदानमा उत्रने तयारीमा छन् । तर दुवै समूहले उम्मेदवारहरूको टुंगो भने अझै लगाउन सकेका छैनन् ।

संस्थापन समूहबाट सभापतिमा शेरबहादुर देउवाले फेरि लड्ने निश्चित भए पनि अन्य पदाधिकारीमा को-को रहने भन्ने टुंगो लागेको छैन । आका‌ंक्षी धेरै भएपछि देउवालाई टिम बनाउन सकस परिरहेको छ । यसैबीच देउवाले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समूहसँग मिलेर चुनावमा जाने तयारी गरेका छन् । सिटौलाले महामन्त्री र सहमहामन्त्री दिए देउवालाई सघाउन तयार हुने रणनीति लिएका छन् ।

देउवासँग सहमति भए सिटौलाले महामन्त्रीमा प्रदीप पौडेल र सहमहामन्त्रीमा उमाकान्त चौधरीलाई अघि सार्ने बुझिएको छ । तर सिटौलाको यो प्रस्तावबारे देउवाले अन्तिम निर्णय दिइनसकेको बताइएको छ । सिटौला समूहका केही नेताहरूले भने सहमति भइसकेको दाबी गरेका छन् ।

यता देउवालाई यसपटक जसरी पनि हराउने बताइरहेको संस्थापनइतर समूहले त झनै सभापतिको साझा उम्मेदवार नै छान्न सकेको छैन । यो समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडैलसहित नेताहरू शशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंह दाबेदार छन् ।

कोइराला दाजुभाइले पौडेललाई समर्थन गर्न सकिने संकेत गरे पनि नेता सिंह आफ्नो अडानबाट टसमस भएका छैनन् । सभापतिमा साझा उम्मेदवार दिन नसके अरु पदहरूमा भने प्यानल बनाएर अघि बढ्ने विकल्पबारे पनि पौडेल समूहमा छलफल चलिरहेको छ । तर नेताहरूले आज बिहानसम्म सभापतिको साझा उम्मेदवार चयन गर्ने दाबी गर्न भने छाडेका छैनन् ।

आज बिहान पनि यो समूहको बैठक बस्दैछ । शुक्रबारको बैठक सकारात्मक दिशातर्फ अगाडि बढेको नेता शेखर कोइरालाले बताए । शक्रबारको बैठकबाट बाहिरिने क्रममा उनले भने, ‘भोलि (शनिबार) बिहानसम्म उम्मेदवार फाइनल गर्छौँ ।’

कांग्रेसको महाधिवेशनबाट सभापति, दुई उपसभापति, दुई महामन्त्री चयन हुनेछन् । यस्तै महिला, आदिवासी जनजाति, दलित, मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्रतर्फ गरी आठ सहमहामन्त्री पनि चयन गर्नेछ। केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिबाट कोषाध्यक्ष मनोनित गर्न पाउने कांग्रेसले विधानमा व्यवस्था गरेको छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us