एमाले अध्यक्षमा ओलीसहित उनको टिम विजयी, १७ बुँदे प्रस्ताव पारित

नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुनः केपी शर्मा ओलीलाई निर्वाचित गरेको छ ।
कूल खसेको दुई हजार ९६ मध्ये अध्यक्ष ओलीले एक हजार आठ सय ४० मत प्राप्त गर्नुभएको पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । महाधिवेशनमा दुई हजार एक सय ५३ प्रतिनिधि रहेका थिए ।
यही मङ्सिर १० गतेदेखि चितवनको सौराहामा सुरु महाधिवेशनमा गए राति भएको मतदानमा ओलीका प्रतिस्पर्धी डा भीमबहादुर रावलले दुई सय २३ मत प्राप्त गरे । विद्युतीय भोटिङ मेसिनका आधारमा गरिएको मतदान र गणनाका करण छिटै परिणाम निस्किएको हो । कतिपय प्रतिनिधिले अध्यक्षका दुवै उम्मेदवारलाई मत दिएको बुझिएको छ । अध्यक्ष ओली गत नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई झिनो मतान्तरले पराजित गर्दै विजयी भएका थिए । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङकर पोखरेललगायत पदाधिकारी भने निर्विरोध निर्वाचित भए । तीन उपमहासचिवमा प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित भए ।
महाधिवेशनको बन्दसत्रको पहिलो दिन यही मङ्सिर ११ गते अध्यक्ष मण्डलका अध्यक्ष ओलीलाई ३०१ सदस्यीय केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यका उम्मेदवारको नामावली प्रस्तुत गर्न अधिकार दिए । अध्यक्ष ओलीले विभिन्न नेताहरुसँगको परामर्शमा १२ गतेको बन्दसत्रमा नामावली प्रस्तुत गर्दा अधिकांशले सहमति जनाएकामा डा रावल, नेता घनश्याम भुसाललगायतका नेताले अस्वीकार गरेपछि निर्वाचन भएको हो ।
एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै मत पाएकी छन् । खसेको २०९६ मतमध्ये उनले १९७६ मत पाएकी छन् । त्यस्तै सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत पाए । अध्यक्ष केपी शर्मा ओलीको सूचीमा नपरेका घनश्याम भुसालले ७२५ मत पाएका छन् ।
एमालेको सात सचिव निर्वाचित भएका छन् । सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन् ।
गोकर्णले १९७६ मत पाएका छन् । सचिवका उम्मेदवारले पाएको यो सर्बाधिक मत हो । योगेशले १९६४, छविलाल र पद्माले समान १८०० मत पाएका छन् ।
लेखराजले १७०४, टोपबहादुरले १७०० र रघुवीरले १५१३ मत पाएका छन् । सचिवमा निर्वाचित भएका सबै अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका उम्मेदवार हुन् ।
छुट्टै उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् ।
यसैबिच, एमालेको १० औं महाधिवेशन आउँदो चुनावमा धेरै जनादेशसहित राज्यको नेतृत्वदायी पार्टीको रुपमा स्थापीत हुने घोषणा गरेको छ । मंगलबार सम्पन्न १० औं महाधिवेशनले १७ बुदे प्रस्ताव पारित गर्दै यस्तो घोषणा गरेको हो ।
