बेलायतका लागि प्रस्तावित राजदुत आचार्यको संसदीय सुनुवाई लम्बियो

२ वर्षs अगाडि

रासस


काठमाडौँ । बेलायतका लागि प्रस्तावित नयाँ नेपाली राजदुत ज्ञानचन्द्र आचार्यको संसदीय सुनुवाई लम्बिएको छ ।

आचार्यलगायत भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ गर्न आइतबार राखिएको सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक आवश्यक न्यूनतम् सङ्ख्या (कोरम) नपुगेपछि सुनुवाई लम्बिएको हो ।

१५ सदस्यीय समितिमा हाल १२ सदस्य रहेकामा आइतबारको बेठकमा पाँच जना मात्रै उपस्थित रहेकाले आवश्यक सङ्ख्या नपुग्दा बैठक स्थगित गर्नुपरेको समितिका सभापति लक्ष्मणलाल कर्णले बताए ।

समितिमा रहेका नेपाली कांग्रेसका सांसदहरु पार्टीका विभिन्न तहका अधिवेशनमा र प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरु पनि महाधिवेशनमा व्यस्त रहेका कारण आइतबारको बैठकमा आवश्यक सङ्ख्या नपुगेको उल्लेख गर्दै सभापति कर्णले अर्को बैठक यही मङ्सिर १७ गतेका लागि तय गरिएको पनि जानकारी दिए ।

समितिको आजै तीन वटा बैठक राखेर पहिलो बैठकमा उजुरी खोल्ने तथा दोस्रो बैठकमा उजुरीकर्तासँग छलफल गर्ने र तेस्रो बैठकमा प्रस्तावित व्यक्तिसँग छलफल गर्ने कार्यसूची रहेको थियो ।

सरकारले केही समयअघि भारतका लागि डा शङ्कर शर्मा, अमेरिकाका लागि प्रा श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूतमा नियुक्ति गर्न सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइका लागि गत कात्तिक १२ गते समितिमा प्रस्ताव आएको थियो ।

समितिमा प्रस्ताव दर्ता भएको ४५ दिनभित्र सुनुवाइ सक्नुपर्ने कानूनी प्रावधान छ ।

© 2022 All Right Reserved DiasporaNepal