देशैभर जनगणना सुरु

काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ बिहीबारदेखि सुरु भएको छ । जनगणनाका लागि देशैभर गरी ३९ हजार गणक र आठ हजार पाँच सय जना गणक कार्यक्षेत्रमा खटिएका छन् । नेपालमा सङ्घीयता कार्यान्वयन भएपछि यो पहिलो जनगणना हो । यसअघि कोरोना महामारीका कारण जनगणना कार्यतालिका स्थगित भएको थियो ।
जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । एक जना गणकलाई एउटा परिवारको जनगणना गर्न करिब २० मिनेट समय लाग्ने अनुमान गरिएको छ । एक जना गणकले औसत एक दिनमा बाह्रवटा घर परिवारको गणना गर्नुपर्ने केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए ।
बिहीबार सङ्घमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना गरेर जनगणना सुरु गरिने छ । प्रदेशमा मुख्यमन्त्री, स्थानीय तहमा नगर तथा गाउँ प्रमुख र वडामा वडाध्यक्षको गणना गरी जनगणनाको प्रारम्भ गरिने विभागले जनाएको छ । उहाँका अनुसार सातवटै प्रदेश कार्यालय, ८७ वटा जिल्ला जनगणना कार्यालय र ३५० वटा स्थानीय जनगणना कार्यालय सञ्चालनमा ल्याइएको छ । गत भदौ ३० देखि कात्तिक १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न भएको थियो । सोको आधारमा जनगणना गरिनेछ ।
“जनगणनामा लिएका तथ्याङ्क सबै गोप्य रहन्छ”, विभागका महानिर्देशक श्रेष्ठले भने , “जनगणना राष्ट्रिय महाअभियान भएकाले सबैले ढुक्क भएर गणकले सोधेका प्रश्नको जवाफ दिनुपर्छ ।” यस वर्षको जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ भन्ने तय गरिएको छ । बिहीबार बिहानैदेखि सबै गणकले घरघरमा पुगेर जनगणना गर्ने विभागले जनाइएको छ ।
यस वर्षको जनगणनामा सबै गणक दस जोर दुई अध्ययन गरेका बेरोजगार युवालाई सहभागी गराइएको छ । यस अगाडि शिक्षकहरूले गणकको रूपमा कार्य गरे पनि यस वर्ष कतिपय शिक्षकलाई प्रशिक्षकको रूपमा सहभागी गराइएको श्रेष्ठले बताए । यस वर्ष जनगणनाका लागि काठमाडौँ महानगरपालिका सहित काठमाडौँका छवटा स्थानीय तहमा प्रविधियुक्त (ट्याबलेट)को प्रयोग गरिएको विभागले जनाएको छ ।
यथार्थ विवरण टिप्ने र टिपाउने कार्यमा योगदान गर्न राष्ट्रपतिको आह्वान

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि राष्ट्रिय जनगणना प्रारम्भ भएकामा त्यसको सफलताको कामना गर्दै यथार्थ विवरण टिप्ने र टिपाउने कार्यमा योगदान गर्न जनप्रतिनिधि, सामाजिक सङ्घसंस्था एवं सम्बद्ध सबैमा आह्वान गरेकी छिन् ।
राष्ट्रिय जनगणना शुभारम्भ भएको अवसरमा सफलताको शुभकामना व्यक्त गर्दै उनले दिएको सन्देशमा राष्ट्रपतिले राष्ट्रिय जनगणनामा सही विवरण उपलब्ध गराई आफ्ना छरछिमेक तथा परिचितलाई समेत सही विवरण टिपाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिइन्। “ठूलो परिमाणमा स्रोत, साधन तथा जनशक्ति प्रयोग हुने र तयारीका लागिसमेत समय लाग्ने भएकाले जनगणनालाई महत्वपूर्ण राष्ट्रव्यापी कार्यक्रमका रूपमा सफल तुल्याउनुपर्दछ”, सन्देशमा उनले भनिन् ।
लिपुलेक र लिम्पियाधुरामा जनगणना हुने
केन्द्रीय तथ्याङ्क विभागले भारतको सिमाना जोडिएको नेपालको भूमि लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना गर्ने तयारी गरेको छ । त्यसका लागि विभागले कूूटनीतिक माध्यमबाट भारत सरकारसँग समन्वय गरिरहेको छ । यस अवधिमा उक्त कूूटनीतिक प्रयासबाट उक्त क्षेत्रमा जनगणना गर्नसकिने वातावरण बन्ने महानिर्देशक श्रेष्ठले अपेक्षा गरे । सोही स्थानमा गणक जान नसके स्याटलाइटको माध्यमबाट सो क्षेत्रमा घरको गणना गर्ने र एउटा घरमा औसत रूपमा बसोबास गर्ने परिवारको सङ्ख्याका आधारमा भए पनि तथ्याङ्क निकालिने उनले बताए ।
तीन महिना लाग्ने
कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म १५ दिन हुने जनगणनाको नतिजा आउन करिब तीन महिना लाग्ने अनुमान गरिएको छ । नेपालमा भएका कुल जनसङ्ख्या, महिला र पुरुषको मात्र तथ्याङ्क निकाल्न न्यूनतम तीन महिना लाग्ने विभागका निर्देशक ढुण्डिराज लामिछानेले जानकारी दिनुभयो । जनगणनाको पूरै विवरण आउन छदेखि नौ महिना लाग्नेछ । गणकले भरेको फारम कम्प्युटरमा प्रविष्ट गरी सबै तथ्याङ्क निकाल्नुपर्ने भएकाले पूरै विवरण आउन समय लाग्ने भएको हो ।
यस वर्षको जनगणनाका लागि सूचीकरण फाराम, मूलप्रश्नावली र सामुदायिक प्रश्नावली गरी तीन प्रकारका प्रश्नावली तयार गरिएको छ । उक्त प्रश्नावलीले समग्र कृषि क्षेत्रका विवरण , बैङ्कमा किसानको पहुँच, व्यक्तिगत विवरण, जाति, भाषा, धर्म, क्षेत्र, लिङ्ग, सामाजिक आर्थिक विषय, जन्म, मृत्यु, बसाइँसराइलगायतका विवरण आउनेछ ।
घरघरमा पुगेर गणकले सोधेका प्रश्नबाट व्यक्तिगत विवरण आउने र सो व्यक्तिगत विवरणलाई आधार मानेर सुपरिवेक्षकले स्थानीय तहका वडाध्यक्षसँग क्रस चेकिङ गर्नका लागि वडा तहमा सामुदायिक प्रश्न सोधिन लागेको लामिछानेले बताए ।
वडा अभिलेख बन्ने
यस वर्षको जनगणनाबाट ७५३ स्थानीय तहको छ हजार ७४२ वटै वडाको छुट्टाछुट्टै अभिलेख बन्ने भएको छ । जगनणनाबाट वडाभित्र भएको जातजाति, धर्म, सेवाप्रवाह, राज्यले प्रदान गर्ने सुविधामा नागरिकको पहुँच वडाको बस्ती, गाउँ, टोलको सङ्ख्या, वडा कार्यालयबाट टाढा रहेको बस्ती, स्थानीय स्तरमा उत्पादन हुने कृषिजन्य र गैरकृषिजन्य अवस्थाको विवरण आउनेछ ।
त्यस्तै खानीको अवस्था, वडामा राजस्व सङ्कलन हुने राजस्वका स्रोतहरू, वडाले प्रदान गर्ने सेवा सुविधाको अवस्था सहरी सेवा, सुविधामा वडावासीको पहुँचको अवस्था, वडाभित्रको भौतिक पूर्वाधारको अवस्था, सामाजिक र आर्थिक अवस्था विपत् जोखिमको अवस्थाको यथार्थ विवरण आउनेछ । उक्त विवरणको आधारमा सबै वडाको अभिलेख बन्ने महानिर्देशक श्रेष्ठले बताए । नेपालमा हरेक १०/१० वर्षमा राष्ट्रिय जनगणना हुने गरेको छ । नेपालमा पहिलो जनगणना वि.सं. १९६८ मा भएको थियो ।
