काठमाडौँ विश्वविद्यालय र महेश संस्कृत गुरुकुल बिच अनुसन्धानका लागि सहकार्य

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौँ विश्वविद्यालय स्कूल अफ आर्ट्स अन्तर्गत सञ्चालित हिमालय सेन्टर फर एसियन स्टडिज (हिकास) र महेश-संस्कृत-गुरुकुल अन्तर्गत सञ्चालित रामानन्द-अनुसन्धान-केन्द्र (RRC) का बीच आपसी सहयोग र सहकार्यका लागि आज सहमतिपत्र MoU मा हस्ताक्षर गरिएको छ ।

पौरस्त्यभाषा, पूर्वीय दर्शन, साहित्य, संस्कृति र हिमाली सभ्यता जस्ता विषयमा संयुक्त रूपमा अध्ययन अनुसन्धान गर्ने र प्राचीन अभिलेख, पाण्डुलिपि एवं योग आयुर्वेद, परम्परागत चिकित्सा विधि जस्ता व्यवहारोपयोगी विषयमा संयुक्त रूपमा अध्ययन अनुसन्धान गर्न दुबै पक्षबीच सहमति भएको हो । प्राविधिक क्षेत्रमा फड्को मारिरहेको काठमाण्डौ विश्वविद्यालय र आध्यात्मिक दर्शनको क्षेत्रमा अग्रणी भूमिकामा रहेको महेश संस्कृत गुरुकुल दुबै संस्थाले आपसमा सहयोगको आदान प्रदान गर्ने सहमति गरेका हुन् ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा र महेश-संन्यास आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरिको विशेष उपस्थिति रहेको कार्यक्रममा हिमालय सेन्टर फर एसियन स्टडिजका तर्फबाट सुश्री एक्कुमाया पुन एवं रामानन्द-अनुसन्धान-केन्द्रका तर्फबाट सहप्रा.डा. गुरुप्रसाद सुवेदीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, काठमाण्डौ विश्वविद्यालयका रजिष्टार प्रा.डा. सुबोध शर्मा, संस्थापक रजि. प्रा.डा. सीताराम अधिकारी, पूर्व रजिष्टार भद्रमान तुलाधर, प्रा.शिवगोपाल रिसाल, शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला एवं डा. चिन्तामणि योगीको समेत उपस्थिति थियो । नेपालमा गुरुकुल शिक्षाका अभियन्ता एवं महेश संन्यास आश्रमका संस्थापक श्री १००८ डा. स्वामी रामानन्द गिरिज्यूको संस्मरणका साथ सञ्चालन गरिएको यस कार्यक्रममा वक्ताहरूले आध्यात्मिक क्षेत्रमा स्वामीज्यूले दिनुभएको विशिष्ट योगदानको चर्चा गरेका थिए ।

यस अवसरमा रामानन्द रिसर्च सेण्टर (RRC) द्वारा प्रकाशित प्रा.डा. विद्यानाथ कोइरालाको कृति पुर्ख्यौली विज्ञानको विमोचन समेत गरिएको थियो ।।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us