ट्राफिक प्रहरीद्वारा काठमाडौँमा पछिल्लो २४ घण्टामा २३ लाख २० हजार राजस्व सङ्कलन

२ घण्टा अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूमाथि कडाइ गर्दै ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा रु २३ लाख २० हजार राजस्व सङ्कलन गरेको छ ।

उपत्यकामा पछिल्लो समय बढ्दो सवारी चाप, अव्यवस्थित यातायात र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै विशेष अभियान सञ्चालन गरिँदा यस्तो उल्लेखनीय परिणाम देखिएको जनाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो चौबिस घण्टामा उपत्यकाका विभिन्न स्थानहरूमा व्यापक चेकजाँच सञ्चालन गरी उक्त अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने कूल दुई हजार ६४० जना चालकलाई कारबाही गरिएको छ ।

कारबाहीमा परेकामध्ये मादक पदार्थ सेवन गरेर सवारी चलाउने १०१ जना, सवारीसाधनको अवस्था ठीक नभएका ३९ जना, रातो बत्ती उल्लङ्घन गर्ने १८० जना, तीव्र गतिमा सवारी चलाउने ८७ जना, लेन मिच्ने २७६ जना, ढोका खुल्ला राखेर सवारी चलाउने ८२ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ५२ जना, यात्रु चढाउने–ओराल्ने नियम उल्लङ्घन गर्ने ५५ जना तथा अन्य विभिन्न कसुरमा एक हजार ७९० जना रहेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

पछिल्लो समय सवारी दुर्घटनाका घटनाहरू बढ्दै गएकाले ट्राफिक प्रहरीले ‘सेफ ड्राइभिङ’ अभियानलाई अझ प्रभावकारी बनाएको र यसअन्तर्गत मुख्य चोक, व्यस्त सडकखण्ड तथा दुर्घटना सम्भावित क्षेत्रहरूमा विशेष निगरानी बढाइएको जनाएको छ ।

काठमाडौँ उपत्यकामा रहेका स्कुल, कलेज तथा सार्वजनिक स्थानमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी सुरक्षित यातायात संस्कृतिको विकास गर्न प्रयास भइरहेको ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

ट्राफिक प्रहरीले चालकहरूलाई मादक पदार्थ सेवन नगरी सवारी चलाउन, तोकिएको गति सीमा पालना गर्न, लेन अनुशासन कायम गर्न तथा ट्राफिक सङ्केतहरूको सम्मान गर्नसमेत आग्रह गरेको छ । नियम उल्लङ्घनले व्यक्तिगत मात्र होइन, सार्वजनिक सुरक्षामा समेत गम्भीर असर पार्ने भएकाले सबैलाई जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ ।

ट्राफिक प्रहरीले आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ । साथै, प्रविधिको प्रयोग बढाउँदै स्मार्ट ट्राफिक व्यवस्थापन प्रणाली लागू गर्ने तयारीसमेत भइरहेकाले उपत्यकाको यातायात व्यवस्थापनलाई थप व्यवस्थित र सुरक्षित बन्ने अपेक्षा गरिएको ट्राफिक प्रहरी प्रमुख अधिकारीले बताए ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us