गृहमन्त्री सुदन गुरुङद्वारा पदबाट राजीनामा
काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन् । विगत केही समयदेखि नागरिक स्तर र सञ्चारमाध्यममा आफ्नो सेयर लगायतका विषयमा उठेका प्रश्न र टिप्पणीहरूलाई गम्भीरतापूर्वक लिँदै उनले आजैका मितिदेखि लागू हुने गरी पद त्याग गरेका हुन् । चैत १३ गतेदेखि गृह प्रशासनको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले सार्वजनिक जीवन स्वच्छ र नेतृत्व उत्तरदायी हुनुपर्ने मान्यता राख्दै नैतिकताको आधारमा राजीनामा दिएको बताए ।
राजीनामाका सन्दर्भमा निवर्तमान मन्त्री गुरुङले पदभन्दा नैतिकता र जनविश्वास आफ्नो लागि सर्वोपरि रहेको उल्लेख गरे। विशेष गरी सुशासन र पारदर्शिताको माग गर्दै सडकमा उत्रिएको ‘Gen Z’ आन्दोलनको मर्मलाई सम्मान गर्दै उनले नेतृत्वले जवाफदेहिता प्रदर्शन गर्नुपर्नेमा जोड दिए । “मेरा ४६ जना भाइ–बहिनीहरूको रगत र बलिदानीको आडमा बनेको यो सरकारमाथि प्रश्न उठ्दा त्यसको निर्धक्क जवाफ नैतिकता नै हो,” उनले भने।
आफूसँग जोडिएका विषयहरूमाथि हुने निष्पक्ष छानबिनमा कुनै अवरोध नपुगोस् र ‘स्वार्थको बाझिने’ (Conflict of Interest) अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले आफू पदबाट बाहिरिएको उनको स्पष्टोक्ति छ । राजीनामासँगै उनले आम नागरिक, सञ्चारकर्मी र युवा वर्गलाई परिवर्तनका लागि सत्य र इमानदारीको बाटोमा उभिन अपिल पनि गरेका छन् ।
