बैंकबाट लोन लिएर जनताको सेवा गर्दा ‘माफिया’ भनियो : दुर्गा प्रसाईं
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बैंकबाट लोन लिएर जनताको सेवा गर्दापनि ‘माफिया’को आरोप लगाइएकोप्रति आपत्ति जनाएका छन् ।
वुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बैंक तथा सर्वसाधारणबाट ऋण लिएर जनतालाई नै सेवा दिँदा पनि आफूहरूलाई माफिया भनिएकोमा आपत्ति जनाएका हुन् । आफूहरूलाई सरकारले विभेद गरेको उनले बताए ।
‘बैंकबाट लोन लिएर जनता नै सुत्ने ठाउँ बनाएका छौं । जनताकै सेवा गरेका छौं तर हामीलाई नै माफिया भनेका छन् । राज्यले विभेद गरेको छ,’ उनले भने ।
सरकारको निःशुल्क स्वास्थ्य र शिक्षासम्बन्धी नीतिमा पनि प्रश्न उठाउँदै प्रसाईँले शिक्षा र स्वास्थ्य निःशुल्क भन्दापनि किन्न सक्ने हैसियतको बनाउन सकिने दाबी गरे ।
उनले भने, ‘सरकारमा रहेकाहरूले स्वास्थ्य र शिक्षा निःशुल्क भन्छन् । हामी स्वास्थ्य र शिक्षा निःशुल्क होइन किन्न सक्ने हैसियतको चाही बनाउनुपर्छ भन्छौं ।’
नेपालको ‘डिप स्टेट’मा १६ मारवाडी र १० नेपाली रहेको उनले बताए । ‘डिप स्टेट’लाई चलाउँदा अर्थतन्त्र ढल्ने पनि बताए ।
‘डिप स्टेट’ कन्ट्रोल नगर्दासम्म केही नहुने बताउँदै उनले ‘डिप स्टेट’का १६ जनालाई पक्राउ गर्न गृहमन्त्रीलाई आग्रह गरे ।
