बेलायतमा २००९ पछि जन्मिएकालाई चुरोट बेच्न प्रतिबन्ध !
लण्डन । बेलायतमा भावि पुस्ताहरूका लागि धुम्रपान पूर्ण रूपमा प्रतिबन्ध गर्ने उद्देश्यले एक ऐतिहासिक विधेयक पारित भएको छ । बेलायती संसदले मंगलबार ‘टोबाको एन्ड भेप्स बिल’ स्वीकृत गरेको हो ।
अब सन् २००९ वा त्यसपछि जन्मेका जोकोहीलाई पनि चुरोट, सुर्तीजन्य पदार्थ वा पेपरहरू बिक्री गर्न स्थायी रूपमा गैरकानूनी बनाउनेछ । यो कानुन कार्यान्वयनमा आएपछि आजका बालबालिकाहरूले आफ्नो जीवनकालमा कहिल्यै पनि कानुनी रूपमा चुरोट किन्न पाउने छैनन् । विश्वकै सबैभन्दा कडा सुर्ती विरोधी उपाय मानिएको यस विधेयकले सुर्तीजन्य पदार्थको प्रयोगलाई घटाउने मात्र नभई पूर्ण रूपमा उन्मूलन गर्ने लक्ष्य राखेको छ ।
यस नयाँ कानुनले चुरोट मात्र नभई ‘सनस’ भनिने ओठ र गिजाको बीचमा राखिने सुर्तीमाथि पनि पूर्ण प्रतिबन्ध लगाएको छ । कानुन उल्लंघन गर्नेहरूका लागि कडा सजायको व्यवस्था गरिएको छ । जसमा उमेर जाँच नगर्ने बिक्रेताहरूलाई तत्काल २०० पाउण्ड जरिवाना र पटक-पटक नियम तोड्ने पसलहरूलाई एक वर्षसम्म बिक्रीमा प्रतिबन्ध लगाउन सकिने प्रावधान छ । यसका साथै, सरकारले भ्यापिङ (ई-चुरोट) का स्वाद र प्याकेजिङमा कडाइ गर्ने तथा बालबालिकाहरू हुने सवारी साधन, खेलमैदान, विद्यालय र अस्पताल बाहिरका सार्वजनिक क्षेत्रहरूमा धुम्रपान र भ्यापिङ निषेध गर्ने अधिकार समेत प्राप्त गरेको छ ।
स्वास्थ्य मन्त्री गिलियन मेरनले यसलाई “ऐतिहासिक विधेयक” भन्दै यसले धुम्रपानमुक्त पुस्ता निर्माण गर्ने विश्वास व्यक्त गरेका छन् । बेलायतमा वार्षिक करिब ७४,६०० मृत्युको कारण धुम्रपान बन्ने गरेको तथ्यांकका बीच यो कदम चालिएको हो ।
सन् २०२५ को एक सर्वेक्षण अनुसार ६८ प्रतिशत वयस्कहरूले यस योजनाको समर्थन गरेका छन् । यद्यपि, केही कन्जरभेटिभ सांसदहरूले यसले खुद्रा व्यापारमा असर पर्ने भन्दै विरोध गरेका छन् भने जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले हाल धुम्रपान गरिरहेकाहरूलाई लत छोड्न थप सहयोग आवश्यक पर्ने सुझाव दिएका छन् ।
