डार्टफोर्डमा भव्य रुपमा मनाइयो तेश्रो बिस्का: जात्रा
लन्डनस्थित नेपाली दूतावास र स्थानीय संघसंस्थाको सहकार्यमा आयोजित जात्रामा झण्डै २८ सय जनाको सहभागिता रहेको आयोजकले जनाएका छन् ।
भैरव र भद्रकालीको रथ यात्रा गरी अन्त्यमा दुई रथ जुधाएर जात्रा समापन गरिएको थियो। साथै, योसिंद्दो (लिंगो) उठाउने, सिन्दुर जात्रा, भैरव नाच, गोर्खाली टाकटुके नाच र धिमे नाच जात्राका प्रमुख आकर्षण थिए ।
नाय् खिं, खिं, पोंगा, मिरध्ंगा, धिमे, ढा: बाजा र बाँसुरीको धुनले वातावरण झन् जीवन्त बनाएको थियो। पासा पुचः गुथि यूकेका चारवटा शाखाबाट ९ वटा बाजा समूहले प्रस्तुति दिएका थिए।
गणेश पूजा पछि बालकुमारी ख:, सिद्धीकाली ख:, विष्णुवीर ख: र दक्षिण बाराही ख: बोकेर परिक्रमा गरिएको थियो। मध्यपुर थिमी शैलीको सिन्दुर जात्रा, समय बजी दों प्रदर्शन तथा योसिन द्योसँग सम्बन्धित गतिविधिले भक्तपुरको मौलिकता झल्काएको थियो।
नेवारी भेषभूषा—हाकुपटासी, न्यापुसिख:, तायो, पछ्यौरा, चाँदीका गरगहना र मखमली जुत्तामा सजिएका महिलाहरू तथा दौरा–सुरुवाल, स्टकोट र ढाका टोपीमा सजिएका पुरुषहरूले जात्रामा रौनक थपेका थिए।
‘नेवा: कला संस्कृतिको संरक्षण तथा प्रवर्द्धन’
कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले नेवा: कला–संस्कृति संरक्षण तथा प्रवर्द्धनमा पासा पुच: गुथी यूकेको भूमिका सह्राहनीय रहेको बताए। उनले खासगरी युवा पुस्तालाई आफ्नो इतिहास, संस्कृति र सम्पदाबारे अवगत गराउँदै संरक्षणमा सहभागी गराउने काम सधैं प्रशंसनीय रहने बताए।
कार्यक्रममा नेपालबाट सो जात्रामा भाग लिन आएका मध्यपुर थिमीका मेयर सुरेन्द्र श्रेष्ठ, हिटी संरक्षण अभियन्ता यादवलाल कायस्थ, सम्पदा संरक्षण अभियन्ता रवि शाक्य र आर्किटेक्ट सुनिस कुमार लाखे लगायत अतिथिहरूको उपस्थिति रहेको थियो। मेयर श्रेष्ठले विदेशमा रहेर पनि नेवा: समुदायले आफ्नो मौलिक संस्कृति, भेषभूषा र परम्परा जीवन्त राख्नु सराहनीय भएको बताए।
आयोजक पासा पुच: गुथी यूकेका अध्यक्ष सुशील प्रजापतिले जात्रामा उत्साहजनक सहभागिताले आफूहरूलाई उत्साहित बनाएको प्रतिक्रिया दिए।
जात्रा संयोजक पासा पुचः गुथि यूके साउथ इष्ट लन्डन अध्यक्ष सुरोज मास्केले स्वागत मन्तव्य दिए भने पासा पुचः गुथि यूकेका पूर्वअध्यक्ष तथा संरक्षक ओजेश सिंहले भक्तपुरमा हुने प्रमुख बिस्का जात्रा तेस्रोपटक लण्डनमा सम्पन्न गर्न पाउदा खुशी प्रकट गर्दै सहभागी सबैलाई धन्यवाद दिए ।
जात्रामा समय बजी, योमरी, नेपाली खाना, पेय पदार्थ लगायतका परिकारसहित ६ वटा खाद्य स्टल र १६ वटा व्यापारिक तथा च्यारिटी स्टल सञ्चालनमा थिए।
जात्रा सन् २०२२ मा लन्डनमा पहिलोपटक आयोजना गरिएको थियो । दोश्रो जात्रा सन् २०२४ मा आयोजना गरियो भने तेश्रो जात्राले अझ व्यापक सहभागिता र आकर्षण बटुलेको आयोजकको भनाइ छ।
(सबै तस्बिर: शिव भण्डारी)
