नेपालमा पनि अवदेखि सातामा दुई दिन सार्वजनिक बिदा
काठमाडौं । सरकारले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा क्षेत्रको कार्यतालिकामा परिमार्जन गर्दै नयाँ शैक्षिक सत्रको मिति तय गरेको हो ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, आगामी शैक्षिक सत्रलाई व्यवस्थित बनाउन वैशाखको मध्यबाट कक्षा सञ्चालन गर्ने निर्णय लिइएको हो। बैठकले शिक्षा क्षेत्रसँगै सार्वजनिक सेवाका क्षेत्रमा पनि ठुलो हेरफेर गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले सोमबार, चैत २३ गते देखि लागू हुने गरी सातामा दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ। अबदेखि सबै सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा हुनेछ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि र आपूर्तिमा उत्पन्न असहजताका कारण इन्धन खपत कम गर्ने उद्देश्यले यो कदम चालिएको प्रवक्ता पोखरेलले स्पष्ट पारे । “पेट्रोलियम आपूर्तिमा देखिएको समस्या र बढ्दो लागतलाई मध्यनजर गर्दै इन्धन जोगाउन हप्तामा दुई दिन बिदा दिने निर्णय गरिएको हो,” उनले भने ।
यो निर्णय भोलिदेखि नै कार्यान्वयनमा आउने भएकाले सरकारी संयन्त्र र शिक्षण संस्थाहरूले सोहीअनुसार आफ्नो सेवा र कक्षा सञ्चालनको समय मिलाउनुपर्नेछ । पेट्रोलियम संकट टार्न सरकारले ल्याएको यो परीक्षणकालीन योजनाले सार्वजनिक खर्च र इन्धन खपतमा राहत पुग्ने विश्वास लिइएको छ । सातामा २ दिन विदा विश्वका धेरै देशमा हुने गरेको छ ।
यी हुन् मन्त्रिपरिषद्का निर्णयहरु :
१.अर्थ मन्त्रालयबाट डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टको लागि क्रमश एसियाली विकास बैंक तथा विश्व बैंकले प्रदान गर्ने ४० मिलियन अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।
२.दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।
३. नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तरगतका निकायहरुको संगठन तथा व्यवस्थापन संरक्षण गर्न पूर्व स्वकृति दिने ।
४.राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष श्री धमेन्द्र झाले दिएको राजीनामा स्वकृति गर्ने ।
५.पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण २०८२ चैत २३ गते बाट लागू हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरुमा शनिबार र आइतबार बिदा दिने तथा शैक्षिक संस्था बाहेक उल्लेखित कार्यालयहरुको कार्यालय समय समय ९ देखि ५ बजे कायम गर्ने ।
६.डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने ।
७.आगामी शैक्षिक सत्र २०८३ बैसाख १५ गतेबाट सुरु गर्ने ।
