नेपालको पर्यटन प्रवर्द्धनमा एनआरएनए र पर्यटन बोर्डबीच सहकार्यको नयाँ अध्याय, ‘नेपाल हाउस’ र ‘अवैतनिक दूत’ को प्रस्ताव

३ हप्ता अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । नेपाललाई विश्वसामु एक उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा चिनाउने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल पर्यटन बोर्ड (एनटीबी) ले दीर्घकालीन रणनीतिक सहकार्यको औपचारिक सुरुवात गरेका छन्। काठमाडौंस्थित पर्यटन बोर्डको कार्यालयमा आज भएको उच्चस्तरीय भेटवार्तामा दुवै संस्थाले विश्वभर फैलिएको नेपाली डायस्पोराको शक्तिलाई नेपालको पर्यटन विकास र प्रवर्द्धनमा उपयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

 नवनिर्वाचित एनआरएनए अध्यक्ष डा. हेम राज शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डललाई पर्यटन बोर्डका सीईओ दीपक राज जोशीले न्यानो स्वागत गर्दै यस सहकार्यलाई नेपालको पर्यटन इतिहासकै एक कोशेढुंगाका रूपमा व्याख्या गरेका छन्। भेटमा एनआरएनएका तर्फबाट अत्यन्तै महत्त्वका साथ ‘अवैतनिक जनसम्पर्क प्रतिनिधि’ (HPRR) को प्रस्ताव अघि सारिएको छ। यसअन्तर्गत विश्वका विभिन्न मुलुकमा रहेका एनआरएनएका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अध्यक्षहरूलाई पर्यटन बोर्डको प्रतिनिधि नियुक्त गरिनेछ। यो संयन्त्रले सम्बन्धित देशमा नेपालको पर्यटन प्रवर्द्धन, स्थानीय ट्राभल व्यवसायीहरूसँगको समन्वय र नेपाली कला-संस्कृतिको प्रचारप्रसारमा ‘ब्रान्ड एम्बेसडर’ का रूपमा काम गर्नेछ।

 छलफलका क्रममा प्रमुख पर्यटकीय बजारहरूमा ‘नेपाल हाउस’ स्थापना गर्ने र विश्वभर ‘नेपाल महोत्सव’ लाई निरन्तरता दिने विषयमा पनि सहमति जुटेको छ। यसले विदेशी पर्यटकलाई नेपालका बारेमा जानकारी दिनुका साथै विदेशमा हुर्किएका नेपाली युवा पुस्तालाई आफ्नो पुर्ख्यौली जरोसँग जोड्ने काम गर्नेछ। सीईओ जोशीले पर्यटन क्षेत्रमा देखिएको सुस्तता चिर्दै नयाँ बजार खोज्ने र लगानी भित्र्याउने नेपालको प्रयासमा एनआरएनएको नेटवर्क ‘अस्त्र’ साबित हुने विश्वास व्यक्त गरे। विशेषगरी, नेपालको हस्पिटालिटी र साहसिक पर्यटनमा डायस्पोराको लगानी भित्र्याउन दुवै निकायले छिट्टै एक औपचारिक समझदारी पत्र (MoU) मा हस्ताक्षर गर्ने तयारी गरेका छन्।

 ९० भन्दा बढी देशमा छरिएर रहेका लाखौँ नेपालीहरूको सामर्थ्यलाई अब नेपालको पर्यटन विकासमा संस्थागत ढंगले परिचालन गरिने भएको छ। यो सहकार्यले व्यक्तिगत नेतृत्वको फेरबदलसँगै नीतिगत निरन्तरतामा असर नपर्ने गरी एमओयूको खाका तयार पारिनेछ, जसले गर्दा भोलिका दिनमा नेपालले विश्व बजारमा आफ्नो पकड थप बलियो बनाउने अपेक्षा गरिएको छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us