संसद बैठकका लागि कार्यसूची तय
प्रतिनिधिसभाको पहिलो बैठकको कार्यसूची तय भएको छ। बुधबार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा बसेको सर्वदलीय बैठकले पहिलो बैठकका लागि पाँच वटा कार्यसूची निर्धारण गरेको हो।
बैठक विहीबार बस्दै छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कबिन्द्र बुर्लाकोटीका अनुसार पहिलो बैठकमा अधिवेशन आह्वानसम्बन्धी सूचना वाचन गरिनेछ। सभामुख निर्वाचित नहुँदासम्म प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले सभाको अध्यक्षता गर्नेछन्। पहिलो दिन राजनीतिक दलका शीर्ष नेताहरूको सम्बोधन गर्ने अभ्यास यसपटक पनि निरन्तर रहनेछ।
सर्वदलीय बैठकले सभामुख निर्वाचनका लागि चैत २० गते मनोनयन दर्ता र २२ गते निर्वाचन गर्ने सहमति जनाएको छ। प्रतिनिधिसभा नियमावलीअनुसार पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन भइसक्नुपर्ने व्यवस्था छ।
यसैगरी, बुधबारको सर्वदलीय बैठकले प्रतिनिधिसभा नियमावली अर्को नबन्दासम्म पुरानै नियमावलीअनुसार काम गर्ने सहमति जुटाएको छ। यसको अनुमोदन सभाबाट गरिनेछ। अर्को कार्यसूचीमा अघिल्लो सरकारले ल्याएका अध्यादेशहरू टेबुल गर्ने विषय रहेको छ। अघिल्लो सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२, नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२ र मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गरेको थियो।
संविधानको धारा ११४ अनुसार अध्यादेश जारी भएपछि बसेको संघीय संसद्को दुवै सदनमा पेस गर्नुपर्ने हुन्छ। पेस नभएमा दुवै सदनको बैठक बसेको ६० दिनपछि अध्यादेश स्वतः निष्क्रिय हुने व्यवस्था छ।
यसैबीच, राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालको कार्यकक्ष सिंहदरबारमा बसेको छ। बैठकले भोलिदेखि शुरु हुने २० औँ अधिवेशनको पूर्वतयारी, राष्ट्रिय सभा उपाध्यक्ष र सभापतिको निर्वाचन तथा नवनिर्वाचित सदस्यहरुलाई समितिमा विभाजन लगायतका विषयमा छलफल गरेको थियो।
छलफलका विषयहरू
१. सभाको आगामी बैठकको कार्यसूचीको सम्बन्धमा
२. सभामा सीट प्लान सम्बन्धमा
३. सभाको प्रस्तावित कार्यतालिका सम्बन्धमा
कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको मनोनयन
समितिमा सदस्यहरुको मनोनयन
उपाध्यक्षको निर्वाचन
सभापतिको निर्वाचन
सभामा अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन
४. दलका नेताको शुभकामना मन्तव्यको समय निर्धारण सम्बन्धमा
