नेप्लिज नर्सिङ एसोसिएसन यूकेले मनायो १२औँ वार्षिकोत्सव

३ हप्ता अगाडि

डायस्पोरा नेपाल

लन्डन – नेप्लिज नर्सिङ एसोसिएसन यूकेले एक शैक्षिक सम्मेलन आयोजना गरी १२औँ वार्षिकोत्सव मनाएको छ । शनिबार लन्डनस्थित ह्यारो बरो फुटबल क्लबमा आयोजित समारोहका प्रमुख अतिथि बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले यस्ता कार्यक्रमले विदेशमा नेपालीको पहिचान गराउनुका साथै नेपालीहरू परिश्रमी छन् भन्ने पनि देखाउने बताए ।

कार्यक्रममा लुइसम एण्ड ग्रीनवीच ट्रष्टकी क्लिनिकल स्पेसियालिस्ट नर्स सुशीला कार्कीले करिअर पाथवे सत्र प्रस्तुत गरेकी थिइन् भने एडभान्स्ड क्रिटिकल केयर प्राक्टिसनर प्रसुना कंडेलले मानसिक स्वास्थ्य, कल्याण र नर्सिङमा लचकता विषयमा प्रस्तुति दिएकी थिइन्।

बकिङ्घमशायर न्यू युनिभर्सिटीको नर्सिङ विभाग प्रमुख गीता लामिछानेले व्यावसायिक तथा शैक्षिक कोर्सका अवसरहरूबारे जानकारी दिइन्। एनएमसीका रेगुलेसन एडभाइजर (स्कटल्याण्ड) डेभिड टेलरले ‘फिटनेस टु प्राक्टिस’ सत्र सञ्चालन गरेका थिए भने हडर्सफिल्ड युनिभर्सिटीकी नर्सिङ रिडर डा. विभा सिम्खडाले नेपालमा नर्सिङको भविष्य र राष्ट्रिय सीपीडी फ्रेमवर्कको परिचय दिएकी थिइन्।

सम्मेलनका क्रममा सहभागीहरूले नेपालकी नवनिर्वाचित स्वास्थ्य मन्त्री निशा मेहतालाई बधाई दिए । नर्सिङ्ग पृष्ठभूमिकी मन्त्री नियुक्तिको खबरलाई नर्सिङ समुदायले ठूलो उत्साहका साथ स्वागत गर्दै उनीहरुले नेपालको स्वास्थ्य प्रणालीमा नर्स उच्च पदमा पुग्नु निकै महत्वपूर्ण भएको बताए ।

कार्यक्रममा एनएनए यूकेका गतिविधिहरूबारे वेलफेयर कोअर्डिनेटर बिनु लामिछानेले प्रस्तुति दिएकी थिइन्। “नर्सिङ वर्कफोर्स च्यालेन्जः माइग्रेसन, रिटेन्सन र व्यावसायिक मान्यता” विषयक प्यानल छलफलमा कल्पना गिरी, भिनिस थोमस, सृजना कोइराला, सुमन श्रेष्ठ, रश्मिता दर्लामी र एनआरएनए युकेका अध्यक्ष राजेन्द्र पुडासैनी सहभागी थिए ।

कार्यक्रममा महासचिव श्रीजा डंगोलले सुरक्षा ब्रिफिङ र उपाध्यक्ष इन्दिरा बस्यालले स्वागत मन्तव्य दिएकी थिइन् ।

सो अवसरमा लिडरसिप, कम्युनिकेसन र इन्टरभ्यू स्किल्स, मिडवाइफरी कन्सल्टेसन पाथवे र ओइटी तथा ओएससीइ सम्बन्धी जानकारी समावेश गरिएका अन्तरक्रियात्मक कार्यशालाहरू सञ्चालन गरिएका थिए । त्यसपछि क्वालिटी इम्प्रुभमेन्ट प्रोजेक्ट र रिसर्च स्किल्स्सम्बन्धी पोस्टर सत्र राखियो । रिसर्चर कृष्ण शर्मा र डा. विभा सिम्खडाले अनुसन्धानमा रुचि राख्ने प्रतिनिधिहरूसँग अन्तरक्रिया गरेका थिए ।

एसोसिएसनकी अध्यक्ष रश्मिता दर्लामीले समापन मन्तव्यमा सबै वक्ता, सहभागी, प्रायोजक र साझेदारहरूलाई धन्यवाद दिँदै नेपाली नर्सहरूबीच एकता र निरन्तर व्यावसायिक विकासको महत्वमा जोड दिइन्। सो अवसरमा प्रमुख अतिथि दुवाडी, एनएचएस इङ्ल्यान्डका प्रतिनिधि र एनएमसी प्रतिनिधिलाई प्रशंसा र मायाको प्रतीकस्वरूप ’टोकन अफ लभ’ प्रदान गरिएको थियो ।

सम्मेलन नेपालमा नर्सिङ विकासको पृष्ठभूमिमा केन्द्रित भएको थियो । करिब ४० जना स्टेकहोल्डरहरूको कार्यशालाबाट तयार पारिएको राष्ट्रिय कन्टिन्यूइङ प्रोफेसनल डेभलपमेन्ट (सीपीडी) फ्रेमवर्क नेपाल नर्सिङ काउन्सिल (एनएनसी) द्वारा नियमन गरिन्छ । यसले हरेक पाँच वर्षमा नर्सहरूलाई तोकिएको घण्टा सीपीडी अनिवार्य बनाएको छ । फेस टु फेस, अनलाइन वा दुर्गम ग्रामीण क्षेत्रमा पहुँचयोग्य ढाँचामा प्रशिक्षण उपलब्ध गराइन्छ।

यूकेमा नर्सहरू सन् २०२५ मा सबैभन्दा बढी विश्वास गरिने पेशाकर्मी बनेका छन्। उनीहरूले सत्य बोल्ने विषयमा इन्जिनियर, डाक्टर, शिक्षक र प्रोफेसरभन्दा अगाडि रहेर सर्वाधिक विश्वास प्राप्त गरेका छन्। नर्सिङ एण्ड मिडवाइफरी काउन्सिल (एनएमसी) ले पनि कडा नियमन गरेको छ, जसअनुसार सन् २०२४–२५ मा ८६०,८०१ दर्तामध्ये मात्र ०.७७ प्रतिशतमा फिटनेस टु प्राक्टिस सम्बन्धी चासो उठेको थियो।

१२औँ एनएनएयूके वार्षिक सम्मेलनले यूकेमा रहेका नेपाली नर्सहरूलाई नेपाल र यूके दुवै देशका व्यावसायिक विकाससँग जोड्ने महत्वपूर्ण प्लेटफर्म प्रदान गरेको आयोजकको विश्वास छ । यसले सहकार्य, ज्ञान आदानप्रदान र नर्सिङ पेशाको निरन्तर विकासलाई प्रोत्साहन दिएको छ । उक्त कार्यक्रम ए स्टार फाइनान्सियल सोलुसन्स लिमिटेड, मेडाक्स ओएससीइ एकेडेमी र अन्य साझेदारहरूको प्रायोजनमा सम्पन्न भएको थियो ।

 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us