कांग्रेसको १५ औं महाधिवेशन भदौबाट असोजमा सर्यो
नेपाली कांग्रेसले पार्टीको १५ औं महाधिवेशन आगामी असोजमा गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५ औ महाधिवेशन आगामी असोज १६, १७ र १८ गते काठमाडौँमा गर्ने गरी मिति संशोधनसहित पारित गरेको हो । यसअघि भदौको २४–२६ मा गर्न सभापति गगन थापाले प्रस्ताव गरेका थिए । सभापति थापाको प्रस्तावलाई संशोधन गरिएको हो ।
महाधिवेशन अन्तर्गत भाद्र ३ गतेबाट वडा अधिवेशन सुरु हुने कांग्रेसले जनाएको छ । बैठकले महाधिवेशनको प्रक्रिया आरम्भ गर्र्दै यसका लािग बरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काको अध्यक्षतामा निर्वाचन समिति बनाइएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
त्यस्तै बैठकले संविधान संशोधनका लागि पार्टीको नेतृत्वमा सर्वपक्षीय छलफल अघि बढाउने निर्णय समेत गरेको प्रवक्ता चालिसेले जानकारी दिए । त्यस्तै नयाँ बन्ने सरकारलाई सकारात्मक सहयोग गर्ने भन्दै प्रवक्ता चालिसेले सुशासन र प्रगतिको तर्फमा सरकारको सफलता मिलोस भन्ने शुभकामना व्यक्त गरिएको बताए ।
बैठकले पार्टीका भातृ तथा शुभेच्छुक संस्थालाई क्रियाशिल बनाउन महामन्त्रीद्वयको संयोजकत्वमा अध्ययन समिति बनाइएको उहाले जानकारी दिए ।
