निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति

४ हप्ता अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको काँधमा ठूलो दायित्व आएको बताएका छन् ।

निर्वाचन आयोग नेपालद्वारा आज आयोग परिसर बहादुर भवनमा आयोजित जलपान कार्यक्रमलाई सम्बोधन गर्दै स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि सबैले एकजुट भएर काम गर्नुपर्छ भने ।

“निर्वाचनमार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने दायित्व अब जनप्रतिनिधिको काँधमा आएको छ, लोकतन्त्रमा मत फरक हुन सक्छन्, तर राष्ट्र निर्माणको साझा लक्ष्यमा सबै नेपालीको एउटै मत हुनेछ भन्ने मैले विश्वास लिएको छु”, उनले भने ।

सो अवसरमा राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले लक्षित गरेको जनताको जीवनस्तर माथि उठाएर मुलुकलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न सबैमा आह्वान पनि गरे ।

राष्ट्रपति पौडेलले भने “लोकतन्त्रले प्रदान गरेको आफ्ना प्रतिनिधि चुन्ने अधिकारको प्रयोग गरी यो महान् उत्सवमा नेपाली नागरिकले देखाउनुभएको उत्साहपूर्ण सहभागिताले हाम्रो लोकतान्त्रिक प्रणालीप्रतिको अटुट विश्वासलाई पुनः पुष्टि गरेको छ, यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ तुल्याएको छ, मतदाताले मतदान केन्द्रसम्म पुगेर व्यक्त गर्नुभएको मतादेशले मुलुकको भविष्यलाई दिशानिर्देश गरेको छ ।”

आयोगले यस पटक निर्वाचनमा मतदाताको सहभागिता बढाउने, मितव्ययिता र पारदर्शिता कायम गर्ने, आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्ने, हरित निर्वाचनको अवधारणा कार्यान्वयन गर्नेलगायतका क्षेत्रमा उल्लेखनीय कार्य गरेको उनले बताए । राष्ट्रपति पौडेलले भने “यसले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष, विश्वसनीय र वातावरण मैत्री बनाउन मद्दत पुगेको छ, निर्वाचनले अन्तरराष्ट्रिय समूहबाट समेत प्रशंसा बटुल्न सफल भएको मैले महसुस गरेको छु ।”

निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्नुहुँदै उहाँले देशको जटिल र कठिन परिस्थितिबाट मुलुकलाई निकास दिन घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा अहोरात्र खटेर मन, वचन र कर्मले क्रियाशील भई शान्तिपूर्णरुपमा सफलतापूर्वक सम्पन्न गरेकोमा सरकार, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सम्बद्ध सरोकारवाला तथा आ–आफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका निर्वाह गरेकोमा सम्पूर्ण देशवासी दिदीबहिनी तथा दाजुभाइलाई धन्यवाद पनि व्यक्त गरे ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us