१७ वर्षपछि सिंहदरबार फर्कँदै संसद्: नयाँ भवनमा चैत १२ गते शपथ ग्रहण
मुलुकमा २०६४ सालको संविधानसभा निर्वाचनपछि बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आएको संसद् अधिवेशन झन्डै १७ वर्षपछि पुनः सिंहदरबारमै फर्कन लागेको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि नवनिर्वाचित २७५ सदस्यहरूको शपथ ग्रहण यही चैत १२ गते दिउँसो २ बजे सिंहदरबारस्थित नवनिर्मित संसद् भवनमा हुने तय भएको छ। विसं २०१६ देखि सिंहदरबारको ग्यालरी बैठकबाट सुरु भएको संसदीय इतिहास २०६४ सालमा सदस्य संख्या ६०१ पुगेपछि ठाउँको अभावमा बानेश्वर सारिएको थियो। तर, गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा बानेश्वरको भवन आगलागीबाट ध्वस्त भएपछि संसद्लाई पुनः आफ्नै स्थायी संरचनामा सार्न लागिएको हो।
सङ्घीय संसद् सचिवालयले २०६५ देखि बानेश्वरको भवन प्रयोग गरेबापत वार्षिक ५ करोड ६० लाख रुपैयाँबाट भाडा तिर्न सुरु गरेको थियो, जुन रकम पछिल्लो समय बढेर वार्षिक १६ करोड ५० लाख रुपैयाँ पुगिसकेको थियो। आन्दोलनपछि सचिवालयले उक्त सम्झौता रद्द गरिसकेको छ। हाल सिंहदरबारस्थित नयाँ भवनको मुख्य हल निर्माण कार्य अन्तिम चरणमा रहेकाले तत्कालका लागि शपथ ग्रहण र प्रारम्भिक बैठकहरू वैकल्पिक बहुउद्देश्यीय हलमा सञ्चालन गरिने जानकारी प्रवक्ता एकराम गिरीले दिनुभएको छ।
यसैबीच, निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ गराउनुहुनेछ। त्यसपछि ज्येष्ठ सदस्य केसीले चैत १२ गते अन्य सबै नवनिर्वाचित सांसदहरूलाई नयाँ भवनमा शपथ गराउनुहुनेछ।
विसं २०७६ देखि निर्माण सुरु गरिएको यो नयाँ संसद् भवन करिब १५१ रोपनी क्षेत्रफलमा फैलिएको छ, जसमा प्रतिनिधिसभा, राष्ट्रियसभा, संसदीय दलका कार्यालय र पुस्तकालयसहित १२ वटा भवनहरू रहेका छन्। यस परियोजनाको कुल लागत सिभिल र इन्टेरियर कार्यसहित करिब ८ अर्ब रुपैयाँ हाराहारी पुग्ने अनुमान गरिएको छ।
