काठमाडौंमा कोठा पाउन नयाँ सांसदलाई सकस 

१ महिना अगाडि

डायस्पोरा नेपाल

काठमाडौँ । जनताका साना-मसिना कामदेखि नीति निर्माणसम्मका लागि सिंहदरबार र संसद् भवन धाउनुपर्ने बाध्यताका बीच नयाँ सांसदहरू यतिबेला काठमाडौँको बानेश्वर र आसपासका क्षेत्रमा ‘डेरा’ खोज्न तल्लीन छन् ।

तर, देश बदल्ने अठोट बोकेर राजधानी छिरेका कतिपय माननीयहरूलाई अहिले एउटा कोठा पाउनु नै फलामको चिउरा चपाउनु सरह भएको छ । अचम्मको कुरा त के छ भने, कतिपय घरबेटीले ‘राजनीति गर्ने मान्छेलाई कोठा दिँदैनौँ’ भन्दै फर्काउने गरेका छन् ।

नेताका पछाडि लाग्ने कार्यकर्ताको भीड, सवारी पार्किङको झन्झट र सुरक्षाका कारण घरबेटीहरू सांसदलाई आश्रय दिन हच्किएपछि प्रत्यक्ष र समानुपातिक दुवैतर्फका घर नहुने सांसदहरू ठुलो मर्कामा परेका छन् ।

काठमाडौँको महँगो घरभाडा र दैनिक जीवनयापनको बढ्दो खर्चले इमानदार राजनीति गर्ने सांसदहरूमाथि गम्भीर आर्थिक दबाब सिर्जना गरेको छ ।

एकातिर संसद्‌मा सांसदहरूको मौजुदा तलब र भत्ताले काठमाडौँको खर्च धान्न नसकिने भन्दै त्यसलाई वृद्धि गर्नुपर्ने आवाज उठ्न थालेको छ भने, अर्कोतिर राजनीतिमा नयाँ सोच र शैली भित्र्याउन खोज्ने रास्वपाका सांसद सुदन गुरुङलगायतका केही जनप्रतिनिधिहरूले कुनै पनि सेवा-सुविधा र तलब नलिने घोषणा गरेर छुट्टै तरङ्ग पैदा गरिदिएका छन् ।

एकातिर सुविधा बढाउनुपर्ने दबाब र अर्कोतिर सुविधा त्याग्ने आदर्शका बीच नेपाली राजनीति र सांसदहरूको डेरा व्यवस्थापनको यो दृश्य अहिले निकै पेचिलो बनेको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us