प्रदीप पौडेलको प्रश्न कार्की आयोगको प्रतिवेदन किन गुपचुप ?

१ महिना अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग अनुरोध गरेका छन् ।

सामाजिक सञ्जालमा एक वक्तव्य जारी गर्दै उनले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गतेका घटना छानविनका लागि गठित आयोगबाट प्राप्त भएको लामो समय भैसकेको अवस्थामा समेत सरकारले प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखिनुलाई विडम्बना भन्दै यसले आशङ्का जन्माएको भनेका छन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले सरकारलाई बुझाइसकेको छानबिन प्रतिवेदन अन्तरिम सरकारले अझै सार्वजनिक गरेको छैन । यसले अनेक आशङ्का र उपशङ्का जन्माएको छ, उनले भने ।

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुन विषयले रोक्यो, यो किन सार्वजनिक गरिँदैन भन्दै उनले यसले यक्ष प्रश्न खडा भएको बताए ।
‘अब अन्तरिम सरकारको समय सकिएको छ, जाने बेला समेत प्रतिवेदन सार्वजनिक नगरेर सरकार आफ्नो कर्तव्यबाट किन विमुख हुँदै छ ?,’ उनले भने, ‘आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो, यसलाई यसअघिका आयोगहरूका प्रतिवेदनजस्तै गुपचुप राखिनु विडम्बना हो ।’

महामन्त्री पौडेलले हिजो सम्पन्न केन्द्रीय कार्य समिति बैठकबाट नेपाली कांग्रेसले प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्ने निर्णय गरेको स्मरण गराउँदै जाँदा जाँदै आफ्नो दायित्व पूरा गर्न सरकारलाई स्मरण गराएका छन् ।

नेपाली काङ्ग्रेसले केन्द्रीय कार्य समिति बैठकबाट समेत प्रतिवेदन सार्वजनिक गर्न माग गरिसकेको छ ।

‘म जाँदै गरेको यो सरकारलाई यथाशीघ्र प्रतिवेदन सार्वजनिक गरेर आफ्नो दायित्व पूरा गर्न फेरि पनि अनुरोध गर्दछु,’ उनले भनेका छन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us