अवैध हुण्डी र क्रिप्टो कारोबारमा संलग्न तीन जना पक्राउ, सवा अर्ब बढीको कारोबार भएको खुलासा
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अवैध हुण्डी तथा क्रिप्टोकरेन्सी (USDT) कारोबारमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक ४१ वर्षीय प्रवेश अली, बाँकेका ३१ वर्षीय नरेश रेउले र सर्लाहीकी ३० वर्षीया दिप्ती पोखरेल छन्।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चैत ६ गते दिउँसो सामाखुशीबाट नरेश रेउलेलाई नियन्त्रणमा लियो। रेउलेसँगको सोधपुछका क्रममा उसले दिप्ती पोखरेल र भारतीय नागरिक प्रवेश अलीका लागि युएसडीटी (USDT) खरिद–बिक्री गर्ने गरेको खुलायो। सोही सूचनाका आधारमा प्रहरीले सोही दिन सामाखुशीस्थित रेडहनपुलबाट दिप्ती पोखरेललाई १५ लाख ३० हजार नगदसहित र साँझ एकान्तकुनाबाट मुख्य आरोपित प्रवेश अलीलाई पक्राउ गर्यो।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा भारतीय नागरिक प्रवेश अलीले बाइन्यान्स (Binance) मार्फत हालसम्म ९१ लाख ८१ हजार ५ सय १३ अमेरिकी डलर (USDT) बराबरको कारोबार गरेको देखिएको छ। यो रकम नेपाली रुपैयाँमा करिब १ अर्ब ३६ करोड ८० लाख ४५ हजार ५ सय ८० हुन आउँछ। प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका ४ थान मोबाइल र १५ लाख ३० हजार रुपैयाँ नगद समेत बरामद गरेको छ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
