नेपाली कांग्रेसका सभापति गगनले दिए राजीनामा
काठमाडौं । निर्वाचनमा पार्टीले व्यहोरेको अप्रत्याशित पराजयको नैतिक जिम्मेवारी लिँदै नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन् । विशेष महाधिवेशनमार्फत नेतृत्व सम्हालेका थापाले पार्टीको आन्तरिक विवाद र चुनावी नतिजाको दबाबका बीच उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । यद्यपि, पार्टीले यो राजीनामालाई हालसम्म सार्वजनिक गरेको छैन । आगामी ६ चैतमा बस्ने गरी तय गरिएको केन्द्रीय कार्यसमिति बैठकमा सभापतिको राजीनामाबारे औपचारिक छलफल हुने र सोही बैठकले राजीनामा स्वीकृत गर्ने वा नगर्ने भन्ने अन्तिम निर्णय लिने पार्टी स्रोतले पुष्टि गरेको छ ।
थापाको नेतृत्वमा भएको विशेष महाधिवेशन र त्यसपछिको आन्तरिक कलह नै यो पराजयको मुख्य पृष्ठभूमि मानिएको छ । गत पुस २७ देखि ३० सम्म भृकुटी मण्डपमा भएको विशेष महाधिवेशनले शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति भंग गरी थापाको नेतृत्वमा १३४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । तर, यसको वैधानिकतालाई लिएर तत्कालीन सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दायर गरेको रिट अझै विचाराधीन छ । निर्वाचन आयोगले थापा नेतृत्वलाई मान्यता दिए पनि पार्टीभित्रको एउटा ठूलो तप्का विशेष महाधिवेशनको विधि र प्रक्रियाप्रति असन्तुष्ट थियो, जसको प्रत्यक्ष असर हालैको निर्वाचनमा देखिएको छ ।
‘अबकि बार, सय पार’ भन्ने नाराका साथ चुनावी मैदानमा होमिएको कांग्रेसले नतिजामा भने ठूलो धक्का व्यहोरेको छ । प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी जम्मा ३८ सिटमा खुम्चिएको कांग्रेसका लागि सभापति थापा स्वयम्को पराजय सबैभन्दा ठूलो झट्का सावित भयो । सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहसँग १२ हजार भन्दा बढी मतान्तरले पराजित भएपछि थापामाथि नैतिक प्रश्न चर्किएको थियो । रूपान्तरणकारी एजेन्डा र नयाँ नीतिका बाबजुद पार्टीले सोचेजस्तो जनमत पाउन नसकेपछि थापाले पद छाडेर पार्टीलाई तत्काल नियमित महाधिवेशनतर्फ डोर्याउने रणनीति लिएको देखिन्छ ।
यो राजीनामासँगै नेपाली कांग्रेसभित्रको सत्ता र शक्ति संघर्षले फेरि नयाँ मोड लिएको छ । विधानको बाध्यात्मक व्यवस्था प्रयोग गरेर विद्रोहको शैलीमा नेतृत्वमा पुगेका थापा र शर्माको समूह अहिले रक्षात्मक अवस्थामा पुगेको छ भने देउवा समूहले यसलाई आफ्नो राजनीतिक पुनरागमनको अवसरका रूपमा हेरेको छ । ६ चैतको बैठकले थापाको राजीनामा स्वीकृत गरेमा कांग्रेस फेरि एकपटक नेतृत्वविहीनता वा तदर्थवादको भुमरीमा फस्ने जोखिम पनि उत्तिकै छ ।
