कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा ‘जेनजी’को प्रदर्शन
काठमाडौं । गत भदौको चर्चित ‘जेनजी आन्दोलन’का क्रममा भएका दमन र घटनाहरूको सत्यतथ्य छानबिन गर्न गठित ‘कार्की आयोग’को प्रतिवेदन सरकारले गुपचुप राखेको भन्दै युवाहरू पुनः सडकमा उत्रिएका छन् ।
बुधबार राजधानीको माइतीघर मण्डलामा भेला भएका ‘जेनजी’ पुस्ताका युवाहरूले आँखामा कालोपट्टी बाँधेर सांकेतिक विरोध प्रदर्शन गर्दै प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका हुन् ।
प्रदर्शनकारीहरूले सरकारले दोषीलाई उन्मुक्ति दिन खोजेको र पीडितको घाउमा नुनचुक छर्केको आरोप लगाएका छन् । हातमा विभिन्न प्लेकार्ड बोकेका युवाहरूले “कार्की आयोगको पूर्ण प्रतिवेदन खोइ?”, “प्रतिवेदन हरायो, सरकार किन डरायो?” र “सरकार झुक्ला दोषीसामु, घाइते जेनजी योद्धा झुक्दैन” जस्ता चर्का नाराबाजी गरेका थिए । प्रदर्शनमा सहभागी युवाहरूले सरकारलाई प्रश्न गर्दै “आमा न्याय माग्न तिमीलाई कति गर्नु कर?” लेखिएको भावुक प्लेकार्डमार्फत राज्यको मौनताप्रति आक्रोश पोखेका थिए ।
आन्दोलनकारीका अनुसार आयोगले सरकारलाई प्रतिवेदन बुझाएको लामो समय भइसक्दा पनि त्यसलाई दराजमा थन्क्याएर राखिनुले लोकतन्त्रको उपहास भएको छ ।

उनीहरूले न्यायिक जाँचबुझ आयोगको निष्कर्ष सार्वजनिक नभएसम्म र दोषीमाथि कारबाही प्रक्रिया अघि नबढेसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन् । प्रदर्शनका कारण केही समय माइतीघर क्षेत्रको यातायात प्रभावित भएको थियो भने सुरक्षा व्यवस्थालाई कडा पारिएको थियो ।
