एनआरएनए अध्यक्षमा हेमराज शर्मा पक्का
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र लामो समयदेखि देखिएको विभाजन र विवाद अन्त्य गर्दै काठमाडौंमा जारी एकता महाधिवेशनले हेमराज शर्मालाई सर्वसम्मत रूपमा नयाँ अध्यक्ष चयन गर्ने तयारी गरेको छ।
विगतमा डा. बद्री केसी र महेश श्रेष्ठ नेतृत्वका दुई समानान्तर कार्यसमिति बनेका कारण विभाजित बनेको संघलाई गत मंसिरमा भएको सहमति अनुसार एक बनाइएको हो। सोही सहमतिलाई मूर्त रूप दिन दुवै पक्षबाट ५०/५० प्रतिशतको हिस्सेदारी रहने गरी पदाधिकारी र कार्यसमिति चयन गरिँदैछ।
अध्यक्षका अन्य प्रत्यासी रोविन शेरचन र रविन बज्राचार्यले शर्मालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि नेतृत्वमा सर्वसम्मतिको बाटो खुलेको हो।
नयाँ संरचना अनुसार संघमा एक अध्यक्ष र दुई महासचिव रहने व्यवस्था गरिएको छ, जसमा केसी समूहबाट डा. चिरञ्जिवि खड्का महासचिव बन्ने निश्चित भइसकेको छ भने श्रेष्ठ समूहले नाम टुंगो लगाउन बाँकी छ।
उपाध्यक्ष पदका लागि श्रेष्ठ समूहबाट बुद्धिसागर सुवेदी, मनोज गोर्खाली, लोक दाहाल तथा केसी समूहबाट रोविन शेरचन र रोजिना प्रधान राईको नाममा सहमति भइसकेको छ।
पदाधिकारीको संख्या बढ्ने भएकाले संघले विधान संशोधनको तयारी समेत गरेको छ। परराष्ट्र मन्त्रालयले संशोधित विधानलाई तत्कालै स्वीकृति दिने आश्वासन दिएकाले सोमबारसम्म नयाँ कार्यसमिति चयनको सम्पूर्ण प्रक्रिया सम्पन्न हुने छ।
