६ वटालाई राष्ट्रिय दलको मान्यता

१ महिना अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फका सबै १६५ निर्वाचन क्षेत्रको परिणाम घोषणा गरिसकेको छ भने समानुपातिकतर्फको मतगणना पनि अब अन्तिम चरणमा पुगेको छ।

सार्वजनिक नतिजाअनुसार यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो शक्तिका रूपमा उदाएको छ। रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जित्नुका साथै समानुपातिकतर्फ ५० लाखभन्दा बढी मत प्राप्त गरी ऐतिहासिक सफलता हासिल गरेको छ। त्यस्तै, १८ सिटसहित प्रत्यक्षमा दोस्रो बनेको नेपाली कांग्रेसले समानुपातिकमा पनि १७ लाखभन्दा बढी मतका साथ आफ्नो स्थान सुरक्षित गरेको छ। नेकपा एमाले प्रत्यक्षतर्फ ९ सिट जितेर तेस्रो स्थानमा छ भने समानुपातिकतर्फ १४ लाखभन्दा बढी मत ल्याएको छ।

यस निर्वाचनमा नेकपा, श्रमशक्ति र राप्रपाले पनि प्रत्यक्षमा सिट जित्नुका साथै समानुपातिकतर्फ राष्ट्रिय दल बन्न आवश्यक तीन प्रतिशतको ‘थ्रेसहोल्ड’ पार गरेका छन्। यससँगै नयाँ प्रतिनिधिसभामा यी ६ वटा दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने निश्चित भएको छ।

अर्कोतर्फ, विगतमा राष्ट्रिय दलको हैसियतमा रहेका जसपा–नेपाल र जनमत पार्टीका लागि भने यसपटकको नतिजा प्रतिकूल बनेको छ। यी दुवै दलले प्रत्यक्षतर्फ कुनै पनि सिट जित्न सकेनन् भने समानुपातिकतर्फ पनि थ्रेसहोल्ड पार गर्ने सम्भावना समाप्त भएको छ।

राष्ट्रिय दलको मान्यता पाउने दलहरूले आगामी निर्वाचनसम्मका लागि आफ्नो चुनाव चिह्न सुरक्षित राख्न पाउने कानुनी सुविधा प्राप्त गर्नेछन्। यद्यपि, राष्ट्रिय दल बन्न नसके पनि दुई जनाभन्दा बढी सांसद भएका दलहरूलाई संसदीय दलको कार्यालय र अन्य सुविधाहरू उपलब्ध गराउने संसदीय अभ्यास रहेको छ। राष्ट्रिय दलको मान्यता नपाए पनि दलहरूले आफ्ना सांसदहरूलाई संसदमा ह्विप लगाउन पाउने अधिकार भने सुरक्षित रहनेछ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us