इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित

२ महिनाs अगाडि

डायस्पोरा नेपाल

इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार एमाले उम्मेदवार नेम्बाङले नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यलाई सात हजार ७७६ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । नेम्बाङ २२ हजार ४२६ मतका साथ निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिए । उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका आचार्यले १४ हजार ६५० मत प्राप्त गरे ।

यस्तै श्रम संस्कृति पार्टीका सुदिप राईले १४ हजार ४०० मत, राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राईले सात हजार ८१४ मत तथा नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङले एक हजार १७२ मत प्राप्त गरे ।

प्रतिनिधिसभा सदस्यमा नेम्बाङको यो दोस्रो विजय हो । यसअघि २०८१ वैशाख १५ गते भएको उपनिर्वाचनमा नेम्बाङले यही क्षेत्रबाट कांग्रेसकै उम्मेदवार डम्बरबहादुर खड्कालाई पाँच हजार ८२० मतान्तरले पराजित गरेका थिए । नेम्बाङले २७ हजार ७७२ मत प्राप्त गरी निर्वाचित हुँदा खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका थिए ।

आचार्यको भने यो दोस्रो पराजय हो । यसअघि २०७० सालको संविधान सभा निर्वाचनमा आचार्य सुहाङकै बुबा सुवासचन्द्र नेम्बाङसँग दुई हजार १०२ मतले पराजित भएका थिए ।

 

फागुन २१ गते भएको निर्वाचनमा यो क्षेत्रमा कुल एक लाख १९ हजार ४८९ मतदातामध्ये ६७ हजार ६६४ मत खसेको थियो । यहाँ तीन हजार ८८३ मत बदर भएको छ । यहाँ विभिन्न १३ राजनीतिक दल र एक स्वतन्त्रसमेत गरी जम्मा १४ उम्मेदवार चुनावी प्रतिष्पर्धामा थिए ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us