बेलायत-नेपाल आर्थिक सम्बन्धको नयाँ क्षितिज: बिराज भट्टको काँधमा बीएनसीसीको कमाण्ड

३ दिन अगाडि

डायस्पोरा नेपाल

लन्डन । लन्डनको केन्सिङ्टनस्थित नेपाली दूतावासको हलमा शुक्रबार साँझ एउटा नयाँ उत्साह सञ्चार भयो। बेलायत र नेपालबीचको झन्डै दुई शताब्दी पुरानो मित्रतालाई व्यापार र लगानीको कडीले अझ बलियो बनाउने उद्देश्यका साथ ‘ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स’ (बीएनसीसी) ले आफ्नो नयाँ सारथि रोजेको छ। संस्थाको वार्षिक साधारणसभाले अनुभवी पर्यटन व्यवसायी बिराज भट्टलाई सर्वसम्मत रूपमा नेतृत्वको जिम्मेवारी सुम्पिएको छ।

यसअघि उपाध्यक्षका रूपमा संस्थाको कार्यभार सम्हालिसक्नुभएका भट्ट अब अध्यक्षका रूपमा बेलायतका नेपाली र बेलायती व्यवसायीहरूको साझा आवाज बनेका छन्। उनीसँगै उपाध्यक्षमा इन्द्र गिरी र कमल पौडेल तथा सचिवमा राजेन्द्र श्रेष्ठ चयन भएका छन्। संस्थाको दैनिक कार्यसम्पादन र रणनीतिक योजनालाई गति दिन स्टिभ बक्लेलाई सिइयोको जिम्मेवारी दिइएको छ।

साधारणसभाको औपचारिक माहोलमा तथ्याङ्कका गम्भीर पाटाहरू पनि उधिनिए। बीएनसीसीका संरक्षक एवं कार्यवाहक राजदूत विपिन दुवाडीले दुई देशबीचको व्यापारिक सम्बन्धमा आएको उतारचढावलाई तथ्याङ्कमार्फत प्रस्तुत गर्नुभयो। सन् २०१९ मा ६०९ मिलियन पाउण्डसम्म पुगेको कुल व्यापार पछिल्ला वर्षहरूमा ३०० मिलियन पाउण्डको सीमाभन्दा तल झर्नुले व्यवसायीहरूमाझ एउटा गम्भीर मन्थनको आवश्यकता बोध गरायो। कार्यवाहक राजदूतले नेपाल लगानीका लागि उर्बर भूमि भएको स्मरण गराउँदै डायस्पोराले समृद्धिका लागि सेतुको काम गर्नुपर्नेमा जोड दिनुभयो।

नवनिर्वाचित अध्यक्ष बिराज भट्टले केवल पदको जिम्मेवारी मात्र सम्हालेनन्, आगामी कार्यकालका लागि एउटा स्पष्ट ‘रोडम्याप’ समेत कोरेका छन्। उनले आगामी अक्टोबर २०२६ मा बेलायती लगानीकर्ताहरूलाई नेपाल लैजाने ‘ट्रेड मिसन’को घोषणा गरे, जसले नेपालमा वैदेशिक लगानीको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ। त्यस्तै, व्यवसायीहरूले लामो समयदेखि झेल्दै आएको ‘दोहोरो कर’को समस्या समाधानका लागि बेलायती विदेश मन्त्रालय र नेपाल सरकारसँग ठोस ‘लबी’ गर्ने उनको प्रतिबद्धताले उपस्थित व्यवसायीहरूमा उत्साह थपेको थियो।

कार्यक्रम केवल निर्वाचन र घोषणामा मात्र सीमित रहेन। रात्रिभोजको अनौपचारिक संवादमा संस्थाको समावेशिता र विस्तारबारे समेत बहस भयो। सफल व्यवसायी दयानिधि सापकोटाले बीएनसीसीलाई लन्डनको घेरा (M25) भन्दा बाहिर लगेर समग्र बेलायतभरिका व्यवसायीको साझा थलो बनाउनुपर्ने सुझाव दिए। निवर्तमान अध्यक्ष डा. कपिल रिजालले संस्थाले विगतमा गरेका कामको स्मरण गर्दै नयाँ नेतृत्वले बीएनसीसीलाई एक विशिष्ट उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

लन्डन–काठमाडौं सिधा हवाई उडानको सपना, ईयूको हवाई प्रतिबन्ध (Blacklist) र नेपालको पर्यटन प्रवद्र्धन जस्ता विषयमा पनि गहन छलफल भयो। सन् १९९६ मा स्थापित यो संस्थाले नयाँ नेतृत्व पाएसँगै बेलायतमा रहेका नेपाली व्यवसायीहरूको मनोबल मात्र बढेको छैन, नेपालमा बेलायती लगानी भित्रिने नयाँ सम्भावनाको ढोका पनि ढक्ढक्याएको छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us