साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बुधबार माल्दिभ्समा भएको बंगलादेशसँगको खेलमा एक एक गोलको बराबरी खेल्दै नेपाल ७ अंकसहित फाइनलमा प्रवेश गरेको हो । साफशुरु भएको २८ वर्ष पछि पहिलो पटक नेपाल फाइनलमा पुगेको हो ।

फाइनल उत्रनका लागि बराबरी गरे पुग्ने नेपालले त्यही नतिजा निकाल्दै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको हो । यो ऐतिहासिक सफलता नेपाली टोलीले बंगलादेशविरुद्धको खेलको ८८ औं मिनेटमा सम्भव भएको थियो ।

खेलको नवौ मिनेटमा नै अस्वभाविकरुपमा पछि परेको नेपालले बराबरीमा उभिन ८८ औं मिनेटसम्म कुर्नु प¥यो । ७९ औ मिनेटमा डिबक्स बाहिर आएर हातले बल रोक्दा गोलरक्षक अनिसुर रहमानले रातो कार्ड पाएपछि बगलादेश १० खेलाडीमा सीमित बनेको थियो । निरन्तर बंगलादेशको पोलमा दबाब दिइरहेको नेपालले खेलको ८८ औ मिनेट पाएको पेनाल्टीलाई सदुपयोग गर्दै खेल बराबरी गरेको हो । पेनाल्टीलाई अञ्जन विष्टले सुन्दर ढंगले गोलमा परिणत गरेका थिए ।

यस अघि पाँच पटक नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको थियो । आजको खेलमा अधिकांश समय गोल नियन्त्रणमा लिए पनि नेपाली खेलाडी बारम्बार चुक्दै आएका थिए । प्रशिक्षक अब्दुल्ला अल्मुतारीले सुरुदेखि नै आक्रमक खेल खेलाएका थिए ।

खेलको नवौं मिनेटमा बंगलादेशका सिमोन रेजाले हेडमार्फत गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए ।

माल्दिभ्सको राजधानी मालेको राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपालले जितको दावी गरेपनि बराबरी नै काफी भएको छ फाइनल उत्रनका लागि । अब नेपालले आयोजक माल्दिभ्स र भारतबीचको विजेताँसँग उपाधिका लागि भिड्ने छ ।

© 2022 All Right Reserved DiasporaNepal