जेन्स यूकेले गर्यो क्रिसमस तथा नयाँ बर्ष २०२५ को बिशेष कार्यक्रम
लण्डन । ग्राजुएट इन्टरपेनर नेप्लीज सोसाइटी (जेन्स) यूकेले यस बर्षको क्रिसमस तथा नयाँ बर्ष २०२५ सालको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । १४ डिसेम्बरमा वेलिङस्थित डेभिज कर्नर रेस्टुरेन्टमा जेन्स यूकेमा आबद्ध सदस्यहरुसहित पारिवारिक भेटघाट गरि क्रिमसम तथा नयाँ बर्ष मनाएको हो ।
बेलायतस्थित नेपाली उद्यमी र व्यवसायीहरूको उत्साहजनक उपस्थितिले कार्यक्रमलाई विशेष बनाएको थियो। संस्थाका अध्यक्ष दीपक गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बालबालिकालाई क्रिसमसको बिशेष उपहार प्रदान गरिएको थियो । संस्थाका महासचिव राम थापाले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित अर्थविद डा. मुकुन्द बास्तोलाले पुर्वअध्यक्षहरु तथा कार्यसमितिका सदस्यहरुलाई प्रमाण पत्र र प्रसंसा पत्र वितरण गरेका थिए । पुर्ब अध्यक्षहरु तथा अन्यलाई संस्थामा गरेको योगदानको कदर स्वरुप सम्मान गरिएको थियो । सम्मानपछि डा. बास्तोलाले नेपाली उद्यमीहरु विदेशमा रहेर आफ्नो रोजगारीको व्यवस्थासहित अन्य मानिसलाई रोजगारी समेत प्रदान गरेकोमा उनीहरुको प्रसंसा गरेका थिए । प्रमुख अतिथि डा. बास्तोलाले नयाँ उद्यमीहरुलाई पनि समेटेर आगामी दिनमा काम गर्न सुझाए ।
उक्त कार्यक्रममा पत्रकार श्याम लुईटेल, संस्थापक अध्यक्ष सालिक सापकोटा, पूर्व अध्यक्ष लेखनाथ गैरे, विष्णु चोङवाङ, र तिलक भट्टराईले शुभकामना दिएका थिए । पुर्व अध्यक्ष भट्टराईले कोभिडमा एनआरएनए यूकेसँग समन्वय गरि अक्जिसन नेपाल पठाउने कार्यमा समेत संस्थाले भुमिका खेलेको बताए । उनले नेपाल कला संस्कृतिलाई बेलायतमा नेपाली माँझ संरक्षण गर्ने कार्य समेत गरेको जानकारी दिए । जेन्स यूकेले नेपाल आइटी हब खोलि रोजगारी समेत दिएको छ ।
अध्यक्ष दीपक गैरेले आफ्नो कार्यकालमा थप नेपाली समुदायका उद्यमी र व्यवसायीहरूलाई एकजुट गर्ने कार्यक्रम चाडै ल्याउने प्रतिबद्धता जनाए । उनले संस्थामा आगामी दिनमा अझ प्रभावकारी बनाउन सबैको सहयोगको आवश्यक रहेको बताए ।