सामाजिक शक्ति र सीमिततामा मिडिया
सामाजिक शक्ति र सीमिततामा मिडिया
डा. कुन्दन अर्याल
कुनै समाचार पढेर मानिस रुन्छन्, द्रवित हुन्छन् वा अक्रोशित बन्छन् । कुनै समाचार सुनेर वा हेरेर मानिसले आफ्नो दृष्टिकोण बनाउँछ । समाचार मानिसको अनुभूति, सोच र दृष्टिकोणको आधार बन्न पुग्छ । तर मिडियाको प्रभाव केवल पाठक, श्रोता वा दर्शकमा मात्र सीमित हुँदैन । सामाजिक, सांस्कृतिक वा आर्थिक शक्ति संरचनाको परिधिमा पनि मिडिया अन्तर्वस्तुका प्रभाव सादृश्य भइरहेको हुन्छ । त्यसैले भनिएको हो, आमसञ्चार माध्यमसँग सामाजिक शक्ति हुन्छ ।
सञ्चारविज्ञ भान डाइकले समाचार माध्यमहरूको शक्तिको चरित्र वा गुण–अवगुण र सीमिततालाई पनि केलाएका छन् । आमसञ्चार मानव सञ्चारका विभिन्न तहमध्ये एक हो । तर आमसञ्चारको विमर्शबाट उत्पन्न हुने सामाजिक शक्तिका सम्बन्धमा कतिपय प्रसङ्गमा सही आकलन गरिएको पाइँदैन । अर्का सञ्चारविज्ञ जोन स्ट्रीटको विचारमा शक्तिसम्बन्धी अध्ययनको प्रारम्भ सामाजिक जीवनमा प्रभाव पार्ने घटना–परिघटना वा तìवका लागि को–को जिम्मेवार छन् भन्ने थाहा पाउने चाहनाबाट हुन्छ । समकालीन राजकीय मामिलाका लागि दोषी को–को हुन् ? अवस्थामा सुधार कसरी गर्न सकिन्छ ? समाचार माध्यमका सन्दर्भमा यस्ता प्रश्नको उत्तर खोज्न मिडिया–शक्तिको वितरण र अभ्यास वा मिडिया–शक्ति प्रयोगका बारेमा थाहा पाउन जरुरी हुन्छ । त्यही क्रममा उनी समाजमा विधमान शक्तिलाई विमर्श–शक्ति, पहुँच–शक्ति र स्रोत–शक्तिमा वर्गीकरण गर्छन् ।
कुनै पनि समाजमा पहुँच र साधन–स्रोत मात्र होइन, आमसञ्चार माध्यमले विमर्श अघि बढाउँदै उत्सर्जन गर्ने शक्ति पनि उत्तिकै प्रभावकारी हुन्छ । तर विमर्शबाट उत्पन्न हुने सामाजिक शक्ति बल प्रयोगजस्तो प्रत्यक्ष र क्रियात्मक हुँदैन । कानुनको उल्लङ्घन गरेको अवस्थामा कानुन बाहाल गराउने निकाय वा प्रहरी–प्रशासनले कसैलाई कारबाही गर्ने क्रिया प्रत्यक्ष हुन्छ । तर मिडिया शक्तिले मानिसको क्रियामा नियन्त्रण गर्दैन । भान डाइकका अनुसार मिडिया शक्ति सामान्यतः साङ्केतिक र सहमतीय प्रकृतिको हुन्छ । मिडियाले प्राथमिक रूपमा केही हदसम्म पाठक वा दर्शकको मस्तिष्कलाई नियन्त्रण गर्ने क्षमता राख्छ । त्यस्तो क्षमता प्रत्यक्ष भने हुँदैन । सामाजिक शक्तिलाई विभिन्न सामाजिक समूह वा ज्यादै शक्तिशाली व्यक्तित्व सम्मिलित संस्था र कमजोर वर्ग वा व्यक्तित्वका कम शक्तिशाली वा कमजोर समूहबीचको अन्तरसम्बन्धका आधारमा पनि परिभाषित गरिंदै आएको छ । मिडियाको शक्ति सामाजिक रूपमा महìव प्रदान गरिएका स्रोत, बल, धन, आम्दानी, ज्ञान वा पद–प्रतिष्ठामा आधारित हुन्छ । यसरी सामाजिक सम्बन्धहरूको परिवेशबीच नै मिडियामार्फत सामाजिक शक्तिको उद्भव हुने गर्छ । त्यसैले मिडियाका अन्र्तवस्तु सामाजिक सम्बन्धहरूबाट प्रभावित भइरहेका हुन्छन् ।
मिडिया व्यावसायिकता वा उच्चस्तरीय मूल्य मान्यताको बाटोमा अघि बढ्दै जानेक्रममा नै स्रोत र पहुँचको शक्तिको खेलका अवाञ्छित क्रियालापबाट क्रमशः मुक्त हुँदै जान सक्छ । तर यो कुरा कतिपय बेला पूरा हुनै नसक्ने आर्दशजस्तो पनि लाग्न सक्छ । बेलायती विद्वान् रेमण्ड विलियम लोकतान्त्रिक मिडिया प्रणालीलाई युटोपियजस्तै ठान्छन् । किनकि, उनको विचारमा सतहमा हेर्दा उत्पादन गर्नेले आफूलाई लागेजस्तो अन्तर्वस्तु उत्पादन र वितरण गर्न पाउने र उपभोक्ताले आफ्नो रुचिअनुसारको अन्तर्वस्तु उपभोग गर्न पाउनु लोकतन्त्र हो । तर उनी भन्छन्, आजसम्म विद्यमान प्रणाली भने लोकतान्त्रिक होइन, सारमा व्यापारिक मिडिया प्रणाली नै हो । किनकि उत्पादक र वितरकले त्यस्तो अन्तर्वस्तुको मात्र प्रसार गर्छन्, जो बजारमा सहजै बिक्री हुन्छ । यस क्रममा अल्पसङ्ख्यकका सञ्चार आवश्यकताको बेवास्ता हुने गर्छ । वियलमको विचारमा लोकतान्त्रिक मिडिया प्रणाली त त्यस्तो प्रणाली हो, जहाँ सबैका सञ्चार आवश्यकता पूरा हुन्छन्, जहाँ अन्र्तवस्तुको विविधताको स्तर निकै माथि हुन्छ । त्यो अवस्थामा निश्चय पनि मिडिया साँचो अर्थमा सामाजिक शक्तिको बाहक हुन सक्छ ।
अव्यवस्थित मिडिया प्रणाली भएको समाजमा यी तीन वटा शक्ति मिडिया–शक्तिको प्रयोग र अवस्थासँग अनुचित रूपमा जोडिन्छन् । त्यसैले लोकतन्त्रमा मिडियाको स्थान र भूमिका सम्बन्धमा चर्चा गर्दा शक्तिका यी स्वरूपहरूलाई बुझ्नुपर्छ । यो विषयलाई जति प्रष्टसँग बुझ्न सकिन्छ मिडिया अन्तर्वस्तुद्वारा राजनीतिक सोच र बहसमा पार्ने प्रभावको प्रयत्नलाई त्यति राम्रोसँग थाहा हुन सक्छ । त्यसैगरी मिडियाको शक्तिमार्फत राजनीतिक पहुँच र सहभागितामा कसरी प्रभाव पार्ने गरिन्छ भन्ने बुझ्ने प्रक्रिया पनि यही नै हो । कुनै आमसञ्चार माध्यम र त्यसको सन्देशलाई बुझ्न समाचारको संरचना र त्यसमा उल्लेख गरिएको विषय वा गर्न खोजिएको विमर्शको रणनीति थाहा पाउन खोज्नुपर्छ । त्यो समाचार–कथाले समाजको संस्थागत संरचनासँग जोडिएर कस्तो विमर्श गर्न खोजेको छ भन्ने पनि बुझ्न जरुरी हुन्छ ।
समाचारमा प्रयुक्त उद्धरण वा समाचारको शीर्षकले समाचार–कथाका पात्र वा समाचारका स्रोतको सञ्चार माध्यमसँगको पहुँचका बारेमा बताउँछ । त्यसैगरी, शीर्षकको सार र रूपले थाहा नपाइने गरी घटना वा प्रवृत्तिको व्याख्या प्रस्तुत गरेको हुन्छ वा पाठक, दर्शक वा श्रोतामाझ सहमति–प्रभाव सिर्जना गरिरहेको हुन्छ । तर अव्यावसायिक र कलाविहीन प्रस्तुति भएको खण्डमा समाचारले दिगो प्रभाव सिर्जना गर्न सक्दैन । अत्यन्त चलाखीपूर्वक समाचारमा गरिएको तोडमोड वा तथ्यको अपख्याखालाई बुझ्न भने उच्चस्तरको आमसञ्चार साक्षरताको आवश्यकता पर्छ । आमसञ्चार माध्यमले पाठक, श्रोता वा दर्शकलाई भाषा, प्रस्तुति वा संरचनाका माध्यमले तोडमोड गरेको वा आफ्नै सोचअनुकूलको कथन स्थापित गर्न खोजेको पनि हुन सक्छ । तर उपभोक्तामा मिडिया साक्षरताको परिमाण जति बढ्छ, मिडियाको एकाधिकार त्यति घट्छ । मिडियामार्फत प्रयुक्त हुने पहुँच र स्रोतको शक्तिको एकाधिकारलाई चुनौती दिने उपाय पनि उपभोक्ताको संचेतनामा अभिवृद्धि नै हो ।
सामान्यतः एकातिर विमर्शबाट उत्पन्न हुने शक्ति वा डिसकर्सिव पावरले जे पनि गर्न सक्छ भन्ने अधिक मूल्याङ्कन गरिएको देखिन्छ । अर्कोतिर मास मिडियाले छापेर वा प्रसार गरेर के हुन्छ र ? भन्ने न्यून मूल्याङ्कन पनि भइरहेको देखिन्छ । साहित्य, मनोरञ्जनका मिडिया वा आमसञ्चारका अन्य विधाले जस्तै समाचार माध्यमको शक्ति विमर्शबाटै उत्पन्न हुने हो । तर तथ्यको तोडमोड भएको वा अवाञ्छित र अव्यावसायिक ढङ्गले उत्पादन गरिएको अन्तर्वस्तुले सामाजिक शक्ति उत्पन्न गर्न सक्दैन । दिगो प्रभाव सिर्जना गर्न सक्दैन । सुरुवात कालदेखि नै आमसञ्चार माध्यमलाई एकातिर समाजका पहुँच र साधन–स्रोतसहितका शक्ति शालीहरूले सामाजिक शक्तिसमेत हासिल गर्न प्रयोग गर्दै आएका छन् । अर्कातिर पहुँच र साधन–स्रोतको शक्तिको आकाङ्क्षामा मिडियाको सामाजिक शक्तिको प्रयोग हुँदै आएको छ । यही द्वन्द्व आमसञ्चार माध्यमको इतिहास र वर्तमानसमेत हो । छापा माध्यमबाट उदाएको आमसञ्चार माध्यमको क्षितिज रेडियो, टेलिभिज वा इन्टरनेटमा आधारित नयाँ मिडियासम्मको युगमा आइपुग्दा आश्चर्यजनक रूपमा फराकिलो भएको छ । तर यी सबै माध्यमबाट भइरहेको पत्रकारिताले उत्पन्न गर्ने सामाजिक शक्तिको प्रयोगको होड अन्तरर्वस्तुमा प्रतिविम्बित भइरहेको छ । स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय तहसम्म समाचार माध्यममा अन्तरनिहीत यस्तो द्वन्द्व पढ्न, देख्न, सुन्न वा अनुभूत गर्न सकिन्छ ।
नेपाली समाजमा एउटा भनाइ चर्चित छ, ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन ।’ यस भनाइको तात्पर्य पनि सञ्चार माध्यमले विमर्शका माध्यमले शक्तिको सिर्जना गर्छ भन्ने नै हो । आजको युगमा मिडिया समाजको एक अभिन्न र अपरिहार्य अङ्ग बनिसकेको छ । मिडियाले राजनीतिदेखि सामाजिक, सांस्कृतिक र आर्थिक जीवनका व्यवहार वा अभ्यासहरूलाई प्रभावित गरिरहेका छन् । यस्तो अवस्थामा मिडियाले सिर्जना गर्ने सामाजिक शक्तिको महìव हुन्छ । तर मिडियाले नियतवश कुनै खास स्वार्थलाई समाचारका रूपमा स्थान दिएको अवस्थामा भने समाचारले सामाजिक शक्ति ग्रहण गर्न सक्दैन । म्यानुपुलेसनको त्यस्तो अवस्थामा समाचार माध्यमको स्वीकार्यता पनि कम हुन्छ । आम उपभोक्ताबीच समाचार माध्यमको स्वीकार्यता र विश्वसनीयता नै मिडियाको शक्तिको आधार हो ।