नयाँ वर्षको स्वागत गर्दै लन्डनमा मनाइयो माघी
होटेल हिल्टन गार्डेन इनमा बुधवार आयोजित समारोहलाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले प्रवासमा बसेर पनि आफ्नो भाषा, संस्कृति र पहिचानको प्रवर्द्धन गर्न जुटेकोमा थारु कल्याणकारी सभा युकेसँग आबद्ध युवाहरूलाई हार्दिक बधाई र धन्यवाद दिए। उनले चार वर्ष पहिले बर्दियामा थारु होम स्टेमा बसेको स्मरण गर्दै थारु समुदायको आतिथ्य, अनुशासन र सहयोगी प्रवृत्ति अनुकरणीय रहेको बताए। उनले बेलायतस्थित थारु लगायत सबै समुदायलाई सक्दो सहयोग गर्न दूतावास सधैँ तयार रहेको जनाए।
कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले थारु समुदायमाथि ऐतिहासिक रूपमा शोषण र उत्पीडन गरिएको भए पनि अहिले थारु युवाहरू देश, विदेश पुगेर प्रगति गरिरहेको बताए। उनले विदेशमा बसेर पनि आफ्नो समुदायको उत्थानका लागि सक्दो सहयोग गर्न आग्रह गरे। उनले केही दशक अगाडीसम्म पनि कमलरी प्रथा जस्तो अमानवीय प्रथा व्यहोरेको समुदाय भएकाले आफ्नो इतिहास आफै लेख्न र स्वाभिमान कायम गर्न सुझाव दिए।
आफ्नो शुभकामना मन्तव्यमा बीबीसी नेपाली सेवाका पूर्व संवाददाता भगीरथ योगीले राष्ट्र गानमा “सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली” भने झैँ विभिन्न जातजाति भाषा भाषी मिलेर नेपाल बनेको बताए। उनले अहिले नेपाल मेची महाकालीभित्र मात्र सीमित नरहेको भन्दै जहाँ जहाँ नेपाली पुगेका छन् त्यहाँ त्यहाँ नेपाल पनि पुगेको जनाए।
उनले आफ्नो बाल सखा दाङ निवासी सुन्दर कुमार चौधरीले ६५ वर्षको उमेरमा सन् २०२४ मा ६,०९० मिटर अग्लो लोबुचे हिमाल सफल आरोहण गरेको र यो वर्ष गोर्खा जिल्लास्थित ८,१६३ मिटर अग्लो मनासलु हिमाल चढ्ने योजना बनाएको बताए। उनले सुन्दर चौधरीले सन् २०२७ मेमा सगरमाथा आरोहण गर्ने लक्ष लिएको जनाउँदै उक्त अभियान सफल भएमा उनी सर्वोच्च शिखर आरोहण गर्ने तराईवासी थारु समुदायको पहिलो व्यक्ति बन्ने पनि जनाए। उनले चौधरीको अभियानमा नैतिक र भौतिक रूपले सघाउन सबैलाई आग्रह पनि गरे।
कार्यक्रममा तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङ, तमु प्ये ल्हु सङ्घ युकेका अध्यक्ष रि क्या डेमबहादुर गुरुङ, किरात राई यायोख्या युके तथा युरोपका विभिन्न संस्थाका प्रतिनिधिहरूले शुभकामना दिएका थिए। कार्यक्रममा ज्योति, जीना, रत्न, माया, सुषमा, सन्ध्या लगायतका कलाकारले थारु नृत्य प्रदर्शन गरेका थिए भने राकेश चौधरीले गीत सुनाए। कार्यक्रममा अतिथिहरूलाई टोकन अफ लभ प्रदान गरिनुका साथै चिचर, ढीक्री, हाँसको मासु, तारेको माछा, तिलको लड्डु लगायत थारु परिकारले स्वागत गरिएको थियो।
थारु कल्याणकारी सभा युकेका अध्यक्ष कवि कुसुम्याले बेलायतमा बसोबास गरिरहेका थारु समुदायका युवाहरूलाई एकजुट गरी थारु भाषा, संस्कृति र पहिचानको प्रवर्द्धन गर्न कार्यक्रम आयोजन गरिएको जनाए। उनले माघी पर्व को शुभकामना दिँदै सबै सहभागी तथा प्रायोजकहरूलाई धन्यवाद दिए।
कार्यक्रमको सञ्चालन ओम थारु तथा ज्योति चौधरीले गरेका थिए।
