पलेसालाई ‘ट्रेलब्लेजर अफ दि इयर’ अवार्ड
पोखरा । पारा तेक्वान्दोकी पलेसा गोवर्धन एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८१ मा ‘ट्रेलब्लेजर अफ दि इयर’ अवार्डबाट सम्मानित भएकी छिन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले पोखरामा आयोजना गरेको अवार्डको २२औँ संस्करणमा पोखराका मेयर धनराज आचार्यले पलेसालाई अवार्ड दिए। पेरिस पारा ओलम्पिकमा कास्य पदक जितेर इतिहास रचेकी पलेसा ओलम्पिक पदक जित्ने नेपालकी पहिलो खेलाडी हुन्।
करातेकी एरिका गुरुङ र क्रिकेटर दीपेन्द्रसिंह ऐरी वर्षका उत्कृष्ट खेलाडी घोषित भए। दीपेन्द्रले एकै ओभरमा छ छक्का प्रहार गरेको र टी-२० विश्वकपमा राम्रो प्रदर्शन गरेका कारण यो अवार्ड पाए। उनले एनपिएलको पहिलो संस्करणमा पनि उत्कृष्ट खेलाडी बन्दै कार जितेका थिए। त्यस्तै, एरिकाले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा लगातार स्वर्ण पदक जितेका कारण दोस्रो पटक वर्षकी सर्वश्रेष्ठ महिला खेलाडीको अवार्ड हात पारिन्।
भलिबलका हिमाल सुनारीले पिपुल्स च्वाइस अवार्ड जिते। उनले ई-सेवाको भोटिङ र प्रशिक्षकहरूको मतका आधारमा अन्य प्रतिस्पर्धीलाई पछि पारेका थिए। वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड पारा तेक्वान्दोका कविराज नेगी लामाले पाए भने युवा वर्ष खेलाडीको अवार्ड क्रिकेटर पूजा महतोले जितिन्। पूजाकै कप्तानीमा नेपाली यु-१९ महिला टोली पहिलो पटक विश्वकपमा छनोट भएको थियो।
पारा एथ्लिट अवार्डबाट प्रभा आङ्दम्बे सम्मानित भइन्। उनले विश्व पारा एथलेटिक्समा ऐतिहासिक रजत पदक जितेकी थिइन्। यस्तै, लाइफ टाइम एचिभमेन्ट अवार्डबाट एथलेटिक्सका पुराना खेलाडी तथा प्रशिक्षक खड्गबहादुर रानाभाट सम्मानित भए। स्पेसल अवार्ड तेक्वान्दोका तुलसीकुमार गुरुङले पाए भने टिम अफ दि इयरको अवार्ड खो खो टिमले जित्यो।
वर्ष खेलाडी, पिपल्स च्वाइस, प्रशिक्षक र युवा विधाका विजेताले बजाज पल्सर मोटरसाइकल पाए भने अन्य विधाका विजेताले एक लाख रुपैयाँ नगद पुरस्कार पाए।
