तमुधीं यूकेको नयाँ अध्यक्षको रूपमा जुमकाजी गुरुङ
लण्डन – तमुधीं यूकेको नयाँ अध्यक्षको रूपमा जुमकाजी गुरुङ सर्वसम्मत चयन भएका छन्।
गत शनिवार सम्पन्न मनोनयन दर्तामा जुमकाजी गुरुङको एकमात्र उम्मेदवारी परेको थियो, जसका कारण उनी निर्विरोध निर्वाचित भएका हुन्।
शनिबार सम्पन्न १३ औं साधारण सभाले २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ कार्यसमितिको उपाध्यक्षमा परशु गुरुङ, कमल गुरुङ र दिलमाया गुरुङ चयन भएका छन्।
यसैगरी, महासचिवमा डा. बिशाल गुरुङ, सचिवमा बिमल गुरुङ, कोषाध्यक्षमा अरुण गुरुङ, सहकोषाध्यक्षमा प्रेमराज गुरुङ, खेलकुद प्रमुखमा क्याप्टेन दीपक घले, सांस्कृतिक सचिवमा श्रीमति पार्वती गुरुङ, सहसांस्कृतिक सचिवमा श्रीमति बिनु गुरुङ र संचार सचिवमा एसके गुरुङ चयन भएका छन्।
साधारण सभाले अन्य विभागीय प्रमुखहरू पनि चयन गरेका छन्। युवा विभागको प्रमुखमा राजेन्द्र गुरुङ, सम्पत्ति विभागमा दीपक गुरुङ, कल्याणकारी विभागमा कुमार घले र फोटोग्राफरको रूपमा मिलन तमु चयन भएका छन्।
जुमकाजी गुरुङ्ग
जुमकाजी गुरुङ पर्वत जिल्लाको भुको: तान्ग्ले गाउँका निवासी हुन्। उनी बाबा स्व. सुनार गुरुङ र आमा स्व. मनसुवा गुरुङको तेस्रो सन्तानका रूपमा विक्रम सम्बत २०१८ मा जन्मेका थिए। जुमकाजीले आफ्नो प्रारम्भिक शिक्षा श्री सिद्ध प्राथमिक स्कूल तान्ग्ले, पर्वतमा पूरा गरेपछि पोखराको राम बजारमा बाबु आमा संग बसोबास गर्दै पढ़ाइ गरे।
उनले निम्न माध्यमिक शिक्षा पूरा गरेपछि अमर सिंह हाइस्कूलबाट एसएलसी उतिर्ण गरे। १९८० मा गोर्खा सैनिक इन्जिनियरमा भर्ना भए र १९८४ मा कमला गुरुङसँग विवाह गरे। १९९७ मा गोर्खा सैनिकबाट अवकाश पाएपछि उनले समाजसेवामा सक्रियता जनाए।
जुमकाजी गुरुङले तमुधीँ ह्याम्प्सर इकाइको साधारण सदस्य हुँदै एक कार्यकाल उपाध्यक्ष र दुई कार्यकाल अध्यक्षको रूपमा समाजसेवा गरे। उनी तमुधीं यूकेको कोषाध्यक्ष, दुई कार्यकाल उपाध्यक्ष र एक कार्यकाल वरिष्ठ उपाध्यक्ष समेत रहेका छन्। यसका अतिरिक्त, जुमकाजी गुरुङ तमुधीं यूकेको आदर्श तमुबाट सम्मानित भएका छन्।