न्यूजिल्याण्डका नयाँ प्रधानमन्त्री क्रिस हिपकिन्स बने

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

क्रिस हिपकिन्स न्यूजिल्याण्डको नयाँ प्रधानमन्त्री बनेका छन् । राजधानी वेलिङ्टनमा बुधबार बिहान आयोजित एक औपचारिक समारोहमा गभर्नर जनरल सिन्डी किरोले उनलाई सपथ गराएका हुन् । क्रिसलाई लेबर ककसले औपचारिक रूपमा समर्थन गरेको थियो । त्यसपछि प्रधानमन्त्री भएसँगै उनी लेबर पार्टीको नेता पनि बनेका छन् । नयाँ प्रधानमन्त्रीको दौडमा उनी मात्रै उम्मेदवार थिए, त्यसपछि यो निर्णय भएको हो ।

यस क्रममा क्रिसले भने, ‘यो मेरो लागि निकै ठूलो जिम्मेवारी हो । म आफ्नो अगाडि भएका चुनौती र जिम्मेवारी लिन तयार छु ।’ न्यूजील्याण्डमा, लेबर पार्टी सन् २०१७ देखि सत्तामा छ, त्यसैले सत्ता विरोधी धेरै छ । बीबीसीका अनुसार न्यूजिल्याण्ड अहिले मुद्रास्फीति र सामाजिक समानतासँग संघर्ष गरिरहेको छ । जसका कारण लेबर पार्टीको लोकप्रियतामा उल्लेख्य कमी आएको छ । यो सबै क्रिससामु ठूलो चुनौती हुनेछ ।

कोरोनामा राम्रो काम गरेर पहिचान बनाए

४४ वर्षीय क्रिस हिपकिन्स सन् २००८ मा पहिलो पटक सांसद निर्वाचित भएका थिए । प्रधानमन्त्री हुनुअघि उनी प्रहरी, शिक्षा र लोकसेवा मन्त्री थिए । जसिन्डा आर्डर्नको राजीनामापछि क्रिस प्रधानमन्त्री बनेका छन् । यद्यपी उनी यो पदमा कति दिन बस्नेछन् भन्ने टुंगो छैन । यो यसकारण किनभने अक्टोबर २०२३ मा न्यूजील्याण्डमा आम चुनाव हुनेछ ।

क्रिस हिपकिन्सलाई सन् २०२० मा महामारीसँग लड्न कोभिड मन्त्री बनाइएको थियो । त्यो समयमा क्रिसको कामको विश्वभर प्रशंसा भएको थियो । न्यूजिल्याण्डमा कोरोना महामारीको तीन वर्षमा २ हजार ४३७ जनाको मृत्यु भएको छ ।

प्रधानमन्त्रीको रुपमा जसिन्डाको अन्तिम दिन

आज जसिन्डा आर्डर्नको प्रधानमन्त्रीको अन्तिम दिन थियो । यतिबेला उनी निकै भावुक देखिएकी थिइन् । उनलाई संसद भवनमा सबै सांसदले अंगालो हाले । यसपछि उनी गभर्नमेन्ट हाउस पुगिन्, जहाँ उनले राजा चार्ल्ससमक्ष औपचारिक रूपमा राजीनामा बुझाइन् । जनवरी १९ मा राजीनामाको घोषणा गर्दै जसिन्डाले भनेकी थिइन्, ‘अब समय आएको छ । मसँग अर्को ४ वर्ष नेतृत्व गर्ने हिम्मत छैन ।’

राजा चार्ल्सको नाममा राजीनामा किन ?

राजा चार्ल्स १४ राष्ट्रमण्डलका राजा हुन् । यी मध्ये एक देश न्यूजिल्याण्ड पनि हो । यी देशहरूमा राजाको शक्तिहरू धेरै हदसम्म प्रतीकात्मक हुन्छन् । अधिकांश देशहरूमा, राजनीतिक निर्णयहरू निर्वाचित संसदद्वारा लिइन्छ र प्रधानमन्त्रीद्वारा लागू गरिन्छ । अर्थात्, राजा देशको प्रमुख हो, तर सरकारको प्रमुख होइनन् ।

ब्रिटेनबाहेक यी देशका राजा हुन् चार्ल्स

– एन्टिगुआ र बरबुडा

– सेन्ट किट्स

– क्यानडा

– पपुआ न्यू गिनी

– बेलिज

– सेन्ट लुसिया

– बहामास

– सेन्ट पिन्सेन्ट एन्ड ग्रेनाडाइन्स

– ग्रेनेडा

– तुवालू

– जमैका

– सोलोमन द्वीप समूह

© 2022 All Right Reserved DiasporaNepal