पाटनमा रात्रिकालीन टेबल टेनिस

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

सांस्कृतिक परम्पराको निरन्तरतामा पाटन देशका अन्य क्षेत्रको तुलनामा अग्रणी छ । समुदायस्तरबाट हुने गरेका सकारात्मक प्रयासको सूचीमा अहिले थपिएको छ– रात्रिकालीन टेबल टेनिस ।

पाँच दशकअघिदेखि पाटनका बहाः (चोक)हरुमा हुने रात्रिकालीन टीटीलाई संस्कृतिका रुपमा विकास गर्ने ललितपुर जिल्ला टेबल टेनिस संघको प्रयासमा स्थानीय तह र समुदायले साथ दिएका छन् ।

ओलम्पिक मान्यताप्राप्त खेल विधा टेबल टेनिस इण्डोर खेल हो । बास्केटबल र फुटसलको लोकप्रियता बढ्नुअघि विद्यालय र क्याम्पसमा टेबल टेनिस सबैभन्दा चर्चित खेलविधा हुने गरेको थियो । अहिले पाटनले टेबल टेनिसलाई आफ्नो मौलिक संस्कृतिको हिस्सा बनाउने प्रयास गरिरहेको छ ।

ललितपुर महानगरपालिकाको कुनै खुला स्थानमा टेन्ट टाँगेर राथिको समयमा टेबल टेनिस प्रतियोगिता आयोजना हुन थालेको चार वर्ष भएको छ । ललितपुर मेयर कप नाम दिइएको यो प्रतियोगितामा उमेर समूह, राष्ट्रिय खेलाडीदेखि भेट्रान्ससम्मका विधा समावेश गरिएका छन् । १२ नम्बर वडामा आयोजना भएको चौथो संस्करण गत हप्ता सम्पन्न भएको छ ।

२०३० को दशकदेखि पाटनमा रात्रिकालीन टेबल टेनिस प्रतियोगिता सुरु भएको सिनियर खेलाडीहरु बताउँछन् । त्यो समयमा हरेक टोलमा सिमेन्टका हरिया बोर्डहरु हुन्थे । ब्याट र बलका लागि आर्थिक भार नपर्ने भएकाले पनि धेरैको आकर्षण टेबल टेनिसमा थियो । पाटनका सुन्धारा, मापाल, कुटीसौगल, पुल्चोक, त्यागलमा पालैपालो हरेक वर्ष टेबल टेनिस प्रतियोगिता आयोजना हुने गरेको थियो ।

‘हाम्रो समयमा मनोरन्जनका अरु साधनहरु थिएन । प्रतियोगिता भएको समयमा साँझ परेपछि मान्छेहरु खेल हेर्न भेला हुन्थे । ४/५ सय मान्छेहरु खेल हेर्न आउने । होहल्ला गर्ने । रमाइलो छुट्टै थियो,’ २०३९ सालमा मापालमा आयोजित रात्रिकालीन प्रतियोगिताका विजेता पन्नाकाजी शाक्यले स्मरण गरे ।

पन्नाकाजी आफ्नो समयमा पाटनका स्टार खेलाडी हुन् । रात्रिकालीन प्रतियोगितामा नियमित सहभागी हुने र उपाधि जित्ने उनलाई देखेर धेरै युवाहरु प्रेरित भएका छन् । पन्नाकाजीले भलै राष्ट्रिय टिमबाट खेलेनन् तर उनको खेल हेरेर उत्साहित हुने राजेन्द्र कपाली, रविन्द्र शाक्यहरु नेपालको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय स्तरसम्म पुगे ।

झण्डै पाँच दशक अगाडिको पाटनको टेबल टेनिस माहोललाई फर्काउन ललितपुर जिल्ला टीटी संघको प्रयासका लागि पन्नाकाजी खुसी व्यक्त गर्छन् । संघका पूर्व सहसचिवसमेत रहेका उनले भने, ‘पाटनमा टीटीको त्यो माहोल फर्काउनका लागि मेयर कप सुरु भएको हो । टीटी खेलको माहोल रंगशालापछि सबैभन्दा धेरै कतै थियो भने त्यो पाटनमा मात्र हो । पाटनको मापाल, सुन्धारा र नागबहाल त सबैभन्दा धेरै गतिविधि हुने ठाउँ हो ।’

चौथो संस्करणमा यसपल्ट भेट्रान्सतर्फ ६० वर्षमाथि उमेरसमूहमा १९ नम्बर वडाका जगदीश्वरप्रसाद जोशीले स्वर्ण जिते । उनी जिल्ला टीटी संघका उपाध्यक्षसमेत हुन् । टेबल टेनिस खेलमा बालबालिकालाई हौसला बढाउन आफूले खेलेको उनले बताए ।

मोबाइल र टेलिभिजनको सुविधाले बच्चाहरुमा सामाजिक समस्या देखिन थालेको छ । उनीहरु घरबाहिर निस्कन नरुचाउने र खेल गतिविधिमा सहभागी नहुँदा समुदायमा दीर्घकालीन असर पर्नसक्ने जोखिम सोचेर प्रतियोगिता आयोजना भएको जोशीको भनाइ छ ।

‘सुरुमा बच्चाहरुलाई घरबाट निकाल्नै गाह्रो हुन्छ । निकालिसकेपछि र खेल्न सिकाएपछि उनीहरु घर जानै मान्दैनन् । सकेसम्म बच्चाहरुलाई मोटिभेट गर्नका लागि खेलिरहेका छौं,’ उनले भने, ‘हाम्रो जोश जाँगर देखेपछि उनीहरु पनि खेल्न उत्सुक हुन्छन् । अहिलेका बच्चाहरुलाई जसरी भए पनि घरबाट बाहिर निकाल्नुपर्ने भएको छ ।’

© 2022 All Right Reserved DiasporaNepal