इन्धन संकट समाधान गर्न बेलायत सरकारद्वारा सोमबारबाट सेना परिचालन

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

PA MEDIA


लण्डन । बेलायत सरकारले पेट्रोलियम पदार्थको सप्लाईमा देखिएको समस्या समाधान गर्न सोमबारदेखि सेना परिचालन गर्ने भएको छ । सेनाले सोमबारदेखि युके भरका ग्यारेजमा पेट्रोल पुर्‍याउन सुरु गर्ने सरकारले बताएको छ । करीव २ सय सेवाकर्मी र महिलाहरु, ती मध्ये १ सय चालकहरु, स्टेशनहरुमा पेट्रोलको समस्या समाधान गर्न अस्थायी रुपमा खटिएको सरकारले जनाएको हो ।
सरकारका मन्त्रीहरुले ३ सय सम्म विदेशी इन्धन ट्याकर चालकहरु मार्चको अन्त्यसम्म तुरुन्तै बेलायतमा काम गर्न सक्षम हुने बीबीसीले जनाएको छ।
चालकहरुको अभावले इन्धन वितरणमा अवरोध आएपछि यस हप्ता पेट्रोल स्टेशनहरुमा लामो लाइन लागेको छ भने इन्धन अभावकै कारण जनताले सास्ति भोग्दै सवारी साधन घरमा थन्क्याएका छन । तर केही दिन भित्रै इन्धनमा देखिएको समस्या सामान्य भएर जाने एक जना मन्त्रीले बताएका छन ।बेलायतमा तेल अभावका कारण पेट्रोल पम्पहरु बन्द हुन थालेका छन् । खुलेका पम्पहरुमा लाइन तथा भीडभाड बढेको छ । केही पेट्रोल पम्पहरू बन्द भएसँगै अवस्था सहज बनाउन सेनालाई तयारी अवस्थामा राखिएको बीबीसीले जनाएको छ ।
सेनाका ट्याङ्कर चालकलाई आवश्यक परेको अवस्थामा परिचालन गर्नका लागि तालिम दिइने बेलायत सरकारले जनाएको छ । तर व्यापारमन्त्री क्वासी कोर्टनले पर्याप्त आपूर्ति रहेको दाबी गर्दै नागरिकलाई नआत्तिन आग्रह गरेका छन् । इन्धन नपाउने डरले आवश्यकता नभएका मानिसले समेत तेल खरिद गर्न पम्पहरूमा लाइन बसेको उनको भनाइ छ । डाक्टर र स्याहार केन्द्रका कर्मचारीले अत्यावश्यक सेवाका कर्मचारीलाई तेलको प्राथमिकतामा राख्न आह्वान गरेका छन् ।

बेलायतमा लरी चालक अभावले इन्धन र खाद्यान्न सङ्कट बढ्दै गएको छ । कोरोना महामारीले चालक अनुमति पत्रको परीक्षा रोकिनु अनि ब्रेक्जिटका कारण यूरोपेली देशका कामदार स्वदेश फर्कनुलाई मुख्य कारण मानिएको छ । ‘सेनाका कर्मचारीहरु हाल ढुवानी स्थलहरुमा तालिम लिइरहेका छन् र सोमबार देखि इन्धनको भण्डारलाई अझ सुधार्नको लागी देशभरि इन्धन आपूर्ति सहज हुनेछ’, सरकारले भनेको छ । रक्षामन्त्री बेन वालेसले भने कि यस हप्ता प्रशिक्षण पछि कर्मचारीहरु ड्राइभरहरु संग काम गरिरहेको देखिने छ।

३ सय ईन्धन ट्याङकर चालकहरुलाई बेलायतमा अस्थायी रुपमा काम गर्न को लागी अनुमति दिईएको छ, ४०० खाद्य ढुवानी चालकहरुलाई अस्थायी भिसा पनि दिइन्छ जो अक्टुबरको अन्त्यबाट आउन र २८ फेब्रुअरी २०२२ सम्म बस्न सक्नेछन । अक्टुबरको अन्त्यबाट आएर डिसेम्बर ३१ सम्म बस्न सक्ने ५,५०० कामदारहरुलाई भिसा दिइन्छ। पेट्रोल रिटेलर्स एसोसिएसनमा ३ सय पेट्रोल स्टेशनहरुको लगभग ५ हजार ५ सय सदस्य छन ।

© 2022 All Right Reserved DiasporaNepal