देउवा सरकारका दुई महिने उपलब्धी सार्वजनिक

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले कामको फेहरिस्त सार्वजनिक गरेको छ । सरकार गठन भएको दुई महिनाभन्दा धेरै समयसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्नसमेत नसकेको भन्दै आलोचना भैरहेको समयमा सचिवालयले सरकारले गरेका महत्वपूर्ण १५ वटा कामको सूची सार्वजनिक गरेको हो ।

कोरोना महामारी नियन्त्रणलाई उच्च प्राथमिकता, एकैदिन तीन लाख मात्रासम्म कोरोना विरुद्धको खोप दिइएको, १८ वर्षमुनिका बालबालिकालाई चालिस लाख मात्रा मोर्डनाको खोप ल्याउने विषय टुङ्ग्याएको, बाढी र पहिरो पीडितको उद्धार, राहत र पुनःस्थापनालाई तीव्रता दिइएको विषय उपलब्धीमा समेटिएको छ ।

एमसीसीमा राष्ट्रिय सहमति निर्माणको पहल र प्रमुख प्रतिपक्षी दललाई विश्वासमा लिन अनौपचारिक छलफल तथा संवाद गरिएको विषयपनि उपलब्धीमा उल्लेख छ ।

यस्तै कोरोना प्रभावित अर्थतन्त्र पुनरुत्थानको लागि विशेष प्याकेज ल्याएको, सरकारी कर्मचारीको तलब बढाएको, क्यान्सर, मिर्गौला र स्पाइनल इञ्जुरीका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ दिने निर्णय भएको, पाँच लाख गरिब परिवारलाई मासिक १० हजार रुपैयाँ दिने निर्णय पनि सूचिमा छ ।

त्यस्तै त्रिचन्द्र र घण्टाघर पुनर्निर्माणको निर्णयलाई उपलब्धीमा राखिएको छ । विद्युत् प्राधिकरणमा कुलमान घिसिङ र योजना आयोगमा विश्व पौडेलको नियुक्तिलाई पनि दुई महिनाको उपलब्धीको रुपमा सार्वजनिक गरेको छ ।

काठमाडौंका १० ठाउँमा सस्तोमा भोजनको व्यवस्था गरिएको, विद्यार्थी लक्षित पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन हुने विषय पनि १५ वटा कामको सूचीमा समावेश छ ।

© 2022 All Right Reserved DiasporaNepal