विदेशी मुद्रा सञ्चिति घटेको घट्यै

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

मुलुकको विदेशी मुद्रा सञ्चिति महिनैपिच्छे घट्दै गएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को वैशाख मसान्तसम्ममा विदेशी मुद्रा सञ्चिति ११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाँमा झरेको छ । चैत मसान्तसम्म यस्तो सञ्चिति ११ खर्ब ६७ अर्ब ९२ करोड थियो । पछिल्लो १ महिना अवधिमा मात्र २१ अर्ब रुपैयाँले सञ्चिति घटेको छ । 

२०७८ असार मसान्तमा नेपालको कुल विदेशी मुद्रा सञ्चिति १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर थियो । जसमा १० महिनामै १८ प्रतिशतले कमी आएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति झन् धेरै २१ प्रतिशतले घटेको छ । २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड डलर रहेकोमा २०७९ वैशाख मसान्तमा २१.१ प्रतिशतले कमी आई ९ अर्ब २८ करोड डलर कायम भएको छ । २०७९ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.१ प्रतिशत छ ।

आर्थिक वर्ष २०७८/७९ को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७ दशमलव ३ महिनाको वस्तु आयात र ६ दशमलव ५७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ । वैशाख मसान्तसम्म कायम रहेको विदेशी विनिमय सञ्चिति कुल गार्हस्थ्य उत्पादनको अनुपातमा २३.६ प्रतिशत र कुल आयातको अनुपातमा ५४.८ प्रतिशत बराबर हो ।

© 2022 All Right Reserved DiasporaNepal