नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत सिइओ मा ज्ञानेन्द्रप्रसाद ढुंगाना नियुक्त

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा ज्ञानेन्द्रप्रसाद ढुंगाना नियुक्त भएका छन्। ढुंगानालाई आउँदो असार १७ गतेदेखि लागू हुने गरी नियुक्ति दिइएको हो।

नेपाल बंगलादेश बैंक प्राप्तीमा मुख्य भूमिका खेलेका ढुंगानालाई नबिल बैंकको सिइओमा ४ वर्षका लागि नियुक्त गरिएको हो।

हाल नबिल बैंकमा अनिल केशरी शाह प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत छन्। शाहको एक कार्यकाल सकिन लागेसँगै ढुंगाना नबिलका सिइओ हुने भएका हुन्।

ढुंगानाले गत पुस १६ गते नेपाल बंगलादेश बैंक छाडेका थिए। एउटा वित्तीय संस्था छोडेर अर्कोमा प्रमुख तथा सञ्चालक जस्तो पदमा जाँदा करिब ६ महिना कुलिङ पिरियडको रूपमा व्यतीत गर्नुपर्ने प्रावधान राष्ट्र बैंकले गरेको छ। 

नबिल बैंकको १ कित्ता सेयर बराबर बंगलादेश बैंकको ०.४३ अनुपात हुने गरी प्राप्ती हुन लागेको हो। अर्थात् अब नेपाल बंगलादेशको एक सय कित्ता सेयर हुनेले नबिलको ४३ कित्ता सेयर पाउने छन्। 

यो प्राप्तीपछि नबिल बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड रूपैयाँ हुनेछ। हाल नबिलको १८ अर्ब ४९ करोड चुक्तापुँजी छ भने नेपाल बंगलादेशको १० अर्ब ८ करोड रूपैयाँ छ।

प्राप्तीपछि नबिल बैंकको शाखा संख्या २ सय ४८ पुग्नेछ। नेपाल बंगलादेशलाई नबिलले प्राप्ति गरेपछि बन्ने बैंकको नाम नबिल बैंक नै रहनेछ।

चुक्तापुँजीको आधारमा अब बन्ने नबिल दोस्रो ठूलो वाणिज्य बैंक बन्नेछ। खुद ब्याज आम्दानी, कुल सञ्चालन आय, सञ्चालन आम्दानी, नाफा लगायतका आधारमा भने निजी क्षेत्रको पहिलो बैंक भएको कम्पनीको दाबी छ।

हाल सबभन्दा धेरै चुक्तापुँजी (२३ अर्ब ७९ करोड रूपैयाँ) सहित ग्लोबल आइएमइ देशकै ठूलो बैंक हो।

© 2022 All Right Reserved DiasporaNepal