नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ऐतिहासिक बैठक रारामा सम्पन्न

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ऐतिहासिक कार्यसमिति बैठक रारामा सम्पन्न भएको छ। एशोसिएशनले शुक्रबार २,९९० मिटरको उचाईमा रहेको रारामा कार्यसमिति बैठक सम्पन्न गरेको हो।

कर्णालीको बिकट जिल्लामा रहेको रारामा कार्यसमिति बैंठकलाई सम्बोधन गर्दै नाडाका अध्यक्ष ध्रुब थापाले भने, ‘प्राकृतिको मनोरम स्थानमा नाडाले आफ्नो कार्यसमितिको बैंठक राखेर आन्तरिक पर्यटन विस्तारमा एक प्रकारको सन्देश प्रदान गर्न खोजेको हो। यसमा सबै पक्षको सहयोग महत्वपूर्ण रह्यो।’

अध्यक्ष थापाले कर्णाली सुन्दर रहेको तर आवश्यक पूर्वाधार विकास हुन नसक्दा पछाडि परेको बताए। उनले थप भने, ‘देशमा पूर्वाधार निर्माणमा राज्यले थप लगानी गर्दै यातायात सञ्जालमा रारालाई छिट्टै जोड्नु पर्ने देखियो।’ 

बैठकसँगै कर्णाली प्रदेशको कर्णाली अटोमोवाइल्स एशोसिएशनसँग पनि रारा तालको परिसरमा अन्तर्क्रिया कार्यक्रम आयोजना भएको थियो। सो अन्तर्क्रिया कार्यक्रममा कर्णाली अटोमोबाइल्स एशोसिएशनका अध्यक्ष भद्र भण्डारीले यातायात पूर्वाधार निर्माण लगायत प्रदेश सरकार र केन्द्र सरकारको पहलमा ‘स्पेशल अटो जोन निर्माण’, व्यवसायीको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन र अन्तर प्रदेश सम्बन्ध लगायतका विषयमा आफ्नो धारणा व्यक्त गरे। 

अन्तर्क्रिया  कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै नाडाका अध्यक्ष थापाले बजेट निर्माणको समयमा पनि धेरै विषयमा आफूहरूले सरकारलाई लिखित रूपमा सुझाव दिएको जानकारी गराए। कार्यक्रममा नाडाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलालले नाडा बलियो बनाउन स्थानीय स्तरबाटै आउने समस्या समाधान गर्दै जानुपर्ने धारणा व्यक्त गरे। नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले कार्यक्रम सञ्चालन गरेका हुन्। 

यसैगरी नेपालगञ्ज आसपासमा रहेका अटोमोबाइल क्षेत्रका समस्याको विषयमा शनिबार नेपालगञ्जको सिद्धार्थ होटलमा अन्तर्क्रिया कार्यक्रम समेत सम्पन्न भएको थियो। उक्त कार्यक्रममा लुम्बिनी अटोमोबाइल्सका अध्यक्ष गणेशप्रसाद भट्टराई समेतको उपस्थिति थियो।

नाडाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेशमा रहेर पर्यटकको ओसार-पसारमा काम गर्ने पदम बहादुर रावललाई आर्थिक सहयोग गरेको थियो। रावलका दुई बच्चाको पढाई-लेखाईमा सहयोग पुगोस् भनेर नगद १५ हजार रूपैयाँ प्रदान गरिएको थियो। साथै, नाडाका सदस्यहरूले उनको परिवारका सदस्यलाई काठमाडौं वा जनकपुर जहाँ भए पनि रोजगारी दिने प्रतिवद्धता समेत व्यक्त गरे। 
 

© 2022 All Right Reserved DiasporaNepal