धरान नगरपालिकामा हर्क साम्पाङको बिजय : के नेपालका मतदाता बदलिन लागेका हुन ?

२ वर्षs अगाडि

मोहन ढुंगेल

देशभर स्थानीय चुनावको लहर छाएको थियो । मेरो घर इटहरीबाट कार्यक्षेत्र धनकुटा ओहोरदोहोर गर्ने क्रममा एउटा ठिटो करीब करीब एक्लै धरानका विभिन्न चोकमा भाषण दिइरहेको भटिन्थे । यात्राका क्रममा उनलाई कहिले छाता चोकमा त कहिले भानुचोक त कहिले लक्ष्मीचोक या भोटेपुलमा पाँच दश जनाका अगाडि नै किन नहोस् बडो फुर्तीका साथ आफ्नो भनाइ राखिरहेको देख्थेँ । शुरुको एक दिन त कुनै औषधी वा अन्य सामानको बिक्रीका लागि ग्राहक आकर्षित गरिरहेका होलान् भन्ठानेँ, वास्ता गरिन्, आफ्नो बाटो लागेँ ।

दोस्रो पटक पनि उनैलाई उही शैलीमा देखेँ । कौतुहलताले एकछिन अडिएँ । लाग्यो, कुनै लिम्बुवानको कार्यकर्ता नेता धरान उपमहानगरपालिकाको कुनै पदमा उम्मेदवारी दिए होलान् । भाषण त्यस्तै थियो । दुई मिनेटमा सुनिने भाषणले खास के बुझाउँथ्यो र । तेस्रो पटकको यात्रामा पनि उही पात्र, उही शैली र स्रोत पनि उस्तै दुई चार जना । यसपटक चैं म अलिबेर अडिएँ । स्थानीय धरानबासीका आधारभूत विषयमा उनको भनाई केन्द्रित थियो, विशेषगरी खानेपानी, स्वास्थ्योपचार र धरानको विकास एवं धरानेको मनस्थितिका बारेमा । भाषण चाखलाग्दो त थियो नै, अर्को आश्चर्य के थियो भने, दश जनाको भीडमा पनि उनको फुर्ति उनको उद्वेग उस्तै ।

मान्छे आफ्नो कुरा सुनाउन लाखौं खर्च गरेर हजारौंको भीड जुटाएर कार्यक्रम गर्छन् तर उनलाई ती सबै दाउपेचसँग कुनै जानकारी नभए जस्तो, कुनै मतलब नभए जस्तो, कुनै अर्थहीन कुरा जस्तो । पछिल्लो पटक मैले महसुस गरेँ, कुनै राजनीतिक ईच्छा पलाएका युवा रैछन्, मेयरको स्वतन्त्र उम्मेदवारी दिएछन्, मतदाता आकर्षित गर्दै रैछन् ।

तर, दिन बित्दै गए, हर्क साम्पाङको एकाएक चर्चा सुरु हुन थाल्यो, विशेषगरी सामाजिक सञ्जालमा । एकाध अनलाइन पोर्टलले पनि उनको बारेमा लेख्न र प्रकाशित गर्न थालेपछि मेरो मनमा उठ्यो, को हो हर्क । बुझ्दै जाँदा उनै ठिटा रैछन् । जो अहिले धरान उपमहानगरको मेयर बन्दैछन् । यो घटनाले के पाठ सिकाएको छ भने, जनताको मुद्धालाई निश्वार्थ ढंगले उठाउने हो भने न कसैलाई पार्टीको आर्शिवाद चाहिने रैछ, न त लाखौं खर्च गरेर कृत्रिम भीड नै जम्मा गर्नु पर्ने रैछ । न त एक रुपिया खर्च गर्नु पर्ने रैछ, न अघि पछि लस्कर चलाउनु पर्ने रैछ ।

हर्क साम्पाङको जीवन कहानी अब गोप्य रहेन, विभिन्न सञ्चारमाध्यममार्फत् उनी को हुन, उनको जनमुखी अभियान कहिलेदेखि सञ्चालनमा थियो, एक्लै एक्लै पनि उनले त्यस्ता अभियानलाई कसरी सफल सञ्चालन गरे र गर्दैछन् भन्ने विषय अहिले जनजनको मुखमा छ । म नजिकैको जोडिएको उपमहानगरको बासिन्दा, थोरै भए पनि राजनीतिप्रति चासो राख्ने व्यक्तिले त चुनाव परिणाम सार्वजनिक हुन थालेपछि मात्र उनको बारेमा थाहा पाएँ भने उनी कति प्रचार सादगी रैछन्, जनताको समस्याप्रति कति दत्तचित्त लागिपरेका रैछन् भन्ने पुष्टि हुन्छ ।

यदि जनसमस्या समाधानप्रति उनको एकचित्त हुन्थेन भने धरानवासीले उनलाई यति सजिलै विश्वास गरिहाल्दैनथे । किनभने पूर्वको धरान राजनीतिक रुपमा धेरै सचेत मानिसको बसोबास भएको ठाउँ हो, देश विदेश बुझेर फर्केका लाहुरेहरुको बस्ती पनि हो धरान । त्यही धरानवासीले आज घघडान राजनीतिक नेता कार्यकर्तालाई छाडेर एउटा सामान्य भुइँमान्छेलाई यतिविधि माया, विश्वास र भरोसा दिए, यो नेपाली समाजको नयाँ चेत र नयाँ बाटो मान्नुपर्छ । त्यसैले राजनीतिक व्यक्तित्वहरुका लागि यसले नयाँ सन्देश पनि दिएको छ कि पैसा हैन, भीड हैन, तडकभडक हैन अब राजनीति सादगीले चल्नेवाला छ, अबको राजनीति जनसरोकारका विषयमा को कति संवेदनशील छ भन्ने विषयले तय गर्नेवाला छ, अबको राजनीति निरन्तरताले पछ्याउनेवाला छ र अबको राजनीति भरोसा र विश्वासले जित्नेवाला छ ।

बधाइ हर्क साम्पाङ (हर्कराज राई) ! तपाईको कार्यकाल सफल रहोस् ! चुनौतिका चाङ धेरै छन् है तपाईका सामु ।

© 2022 All Right Reserved DiasporaNepal