सानफ्रानसिस्कोमा आयोजित नेपाल डे परेडमा हजारौं नेपाली सहभागी

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


अमेरिका- संयुक्त राज्य अमेरिकाको सानफ्रानसिस्को सहरमा गत अप्रिल ९ तारिख नेपाली र अमेरिकी झन्डा फहराउँदै करिब २,००० हजार नेपाली र केही सङ्ख्यामा विदेशीहरू नेपाल डे परेडमा सहभागी भए । नेपाली कला संस्कृति, भेष भूषा, रीतिरिवाज, मौलिक र परम्परागत नेपाली अभ्यासको झल्को दिने प्रयास नेपाल डे परेडमा गरिएको थियो । पन्चकुमारी, पञ्चेबाजा, कुमारी, लाखे नाच, धामी, तामाङ, शेर्पा लगायतका कला संस्कृतिले सानफ्रानसिस्को केन्द्र भाग करिब ६ घण्टासम्म झपक्कै ढाकिएको थियो । गैरआवासीय नेपाली सङ्घ अमेरिका पश्चिम क्षेत्र र क्यालिफोर्निया च्याप्टरले क्यालिफोर्नियाका विभिन्न सङ्घ संस्थाहरुसंगको सहकार्यमा सानफ्रान्सिस्कोमा आयोजना गरेको नेपाल डे परेडले अमेरिकामा नेपाल र नेपालका विविध पक्षहरूलाई चिनाउन सहयोग पुगेको छ ।
अमेरिकाको प्रमुख सहर मध्येको एक सानफ्रानसिस्कोकी मेयर लन्डन ब्रिडले नेपाल परेड डे मा ठूलो सङ्ख्यामा नेपालीहरूको उपस्थित देखेपछि गैरआवासीय नेपाली सङ्घको कार्यक्रमलाई आगामी दिनमा आफ्नो प्राथमिकताको सूचिमा राख्ने जनाएकी छन् । अर्को ठूलो सहर रिचमण्डका मेयर टोम भुटले नेपाल डे परेडको फ्लायर नै आफ्नो फेसबुक पेजमा राखेर कार्यक्रमको प्रचार गरिदिएका थिए । त्यस्तै विश्वकै ठूला आइटी कम्पनीहरूको केन्द्र मानिने सनीभेलका मेयर ल्यारि क्लेइनले सानफ्रानसिस्को पुगेर नेपाल डे परेडको सभालाई संवोधन गरेका थिए ।

नेपाल डे परेडका लागि क्यालिफोर्नियाका विभिन्न शहरहरूबाट आआफ्नो भेषभुषा र झाँकीहरू सहित आदिवासी जनजाति एवं अन्य समुदायका व्यक्तिहरू समूहगत रूपमा कार्यक्रममा सहभागी भएका थिए । नेवार समुदायको लाखे नाच र सिँगारिएकी कुमारी सहित नेवा अर्गनाईजेसन अफ अमेरिका कार्यक्रममा सहभागी भएको थियो ।
फेरी बिल्डिङबाट शुरु भएको नेपाल डे परेड युएन प्लाजाको अगाडि पुगेर सभामा परिणत भएको थियो । सभालाई गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदी, महावाणिज्यदूत ऋषि ढकाल, एसी शेर्पा, बाणिज्यदुत म्यारी क्यारोलिन, सङ्घ स्ंस्थाहरुको तर्फबाट उत्तम कार्की,एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष एकदेव शर्मा, एनआरएनए पश्चिम क्षेत्र संयोजक श्रीराम थापा लगायतले सम्बोधन गरेका थिए।
नेपाल डे परेड पछि नेपाली वाद्यवादन सहित नेपाली सांस्कृतिक साँझ आयोजना गरियो । प्रमुख अतिथि एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीले पानसमा बत्ती बालेर कार्यक्रमको शुभारम्भ गरे पछि पन्चे बाजाको झंकार सहित कार्यक्रम अगाडि बढ्यो । सयौ नेपालीहरू कार्यक्रमको लाइभ गीत सङ्गीतमा आनन्दित भएर झुमेका थिए । टेक्सस र न्यू योर्क देखि आएर परेड एवं सांस्कृतिक कार्यक्रममा पन्चे बाजा बजाएर सबैलाई नचाएको हरि थापाको पन्चे बाजा समूहले सबैलाई आकर्षित गरेको थियो ।

प्रधानमन्त्री शेर बहादुर देउवा, पर्यटन मन्त्री प्रेम आले, नेपाली काँग्रेसका महामन्त्री गगन थापा र वासिङ्टन डी सी स्थित नेपाली राजदूतावासले कार्यक्रमको सफलताको कामना गर्दै शुभकामना पठाएका थिए ।
” गैर आवासीय नेपाली सङ्घको नेपाल र नेपालीको पहिचान विदेशमा फैलाउने र विदेशमा आर्जन गरेको पूंजी, दक्षता, सीप, ज्ञान र अनुभवलाई नेपालसँग जोड्ने उद्देश्य हासिल गर्न यस्ता कार्यक्रमहरूको आवश्यकता टड्कारो रूपमा देखिएको छ। यस्ता कार्यक्रमले नेपालमा पर्यटन प्रवर्द्धनका साथै अर्थतन्त्रलाई मजबुत गराउन सहयोग पुग्ने सङ्घले विश्वास लिएको छ,” गैरआवासीय नेपाली सङ्घका प्रवक्ता सोम सापकोटाले जनाए।

© 2022 All Right Reserved DiasporaNepal